भारत पाकिस्तान युद्धविराम- जम्मू र वरपरका क्षेत्रमा स्थिति शान्त
काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम भएपछि आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ ।
मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गत शनिबार राति भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएपछि पनि जम्मूका स्थानीय बासिन्दाहरूले आफ्नो घर वरिपरि ड्रोनहरू देखेका थिए । जम्मूको सीमावर्ती क्षेत्रका धेरै स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा ड्रोन उडिरहेको देखिएको थियो ।
पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँहरूबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समय पछि पनि उनीहरूको घर वरिपरि हल्का गोलीबारी भएको आवाज सुनिएको बताए । उनीहरुले ड्रोनहरू लामो समयसम्म आकाशमा उडिरहेको र यी गतिविधिहरू केही घण्टा पछि बन्द भएको बताएका छन् । भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गरेर पाकिस्तानबाट ड्रोन र हल्का गोलीबारीका केही घटना भएको बताएको थियो । यद्यपि, यसपछि स्थिति शान्त भयो ।
आइतबार बिहान स्थानीय बासिन्दाहरूले रात शान्तिपूर्वक बिताएको बताए । सीमा नजिकै भएको गोलाबारीपछि अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको समाचार छैन । हाल जम्मू र वरपरका क्षेत्रहरूको अवस्था सामान्य रहेको छ ।