के अब सन्दीपले क्रिकेट खेल्दैनन्, केन्द्रीय सम्झौताबाट अलग रहनुको अर्थ ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार बलर अलराउण्डर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने निर्णय सार्वजनिक गरे ।

उनको उक्त निर्णयपछि क्रिकेट क्षेत्र पुनः एक पटक तरङ्गित भएको छ । लामो समयको न्यायालय र विभिन्न परिबन्धबाट आएका सन्दीप हाल भने न्यायालयबाट निर्दोष ठहर भइसकेका छन् । निर्दोष ठहर पछि उनी मैदानमा पनि फर्किए तर उनले पहिले झैँ प्रर्दशन भने गर्न सकेका छैनन् । त्यसै सन्र्दभमा हालै नेपाल राष्ट्रिय क्रिकेट पुरुष टोलीका लागि नयाँ प्रशिक्षक आए र उनको नेतृत्वमा कोर क्याप्प आयोजना गरियो जहाँ पनि सन्दीपको प्रदर्शन भने उत्कृष्ट भने रहेन तर उनले सम्हालेको टिमले राम्रो प्रदर्शन गर्‍यो र धेरै खेलाडी समेत राष्ट्रिय टिममा पर्न पनि सफल भए । यी सबै कुरा भइसकेपछि लामिछानेले लिग २ को खेल खेल्न जानु अघि सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा यस्तो निर्णय लिँदै भनेका थिए – अब म स्वतन्त्र रूपमा नेपाली क्रिकेट टिमका लागि सेवा गर्न चाहन्छु, कुनै संस्थागत बन्धनमा बाँधिन चाहन्न।

सन्दीप लामिछाने केही वर्ष यता कानुनी विवादमा मुछिएपछि नेपाली क्रिकेटबाट एक प्रकारले अलग्गिएका थिए । बलात्कार आरोपमा दोषी ठहर भएपछि उनलाई क्यानले निलम्बन गर्‍यो। तर पछि, पाटन उच्च अदालतले उनलाई सफाइ दिएपछि फेरि राष्ट्रिय टिममा फर्किने वातावरण तयार भयो। यसबिचमा, क्यानले उनलाई ग्रेड ‘ए’ अन्तर्गतको केन्द्रीय सम्झौतामा पनि समावेश गरेको थियो । हाल नेपालमा ‘ए’ ग्रेडका खेलाडीले मार्सिक रु एक लाख नगद पाउँछन् ।  तर त्यो प्रस्तावलाई सन्दीपले यस पटक अस्वीकार गरेका छन्। उनले कुनै पनि खेलाडीले पारदर्शिता, सम्मान र निष्पक्ष व्यवहारको वातावरणमा मात्र क्रिकेट खेल्न सक्ने बताएका छन् । सन्दीपको यो निर्णयले व्यक्तिगत स्वतन्त्रता र खेलाडीको आत्मसम्मानबारे नयाँ बहस पैदा गरेको छ । 

नेपाल क्रिकेट सङ्घको सम्झौता, केन्द्रीय सम्झौताबाट अलग रहनुको अर्थ ?

नेपाल क्रिकेट सङ्घले आफ्नो नीति अनुरूप हरेक वर्ष खेलाडीहरूलाई केन्द्रीय सम्झौतामा समावेश गर्दै आएको छ । यसअन्तर्गत खेलाडीले मासिक तलब, बिमा सुविधा, प्रशिक्षण, विदेशी भ्रमण लगायतका सुविधाहरू पाउँछन्। यसले खेलाडीको समर्पण, निरन्तरता र अनुशासन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास सङ्घको रहँदै आएको छ । तर, सन्दीपले यस्ता सम्झौता व्यक्तिगत स्वतन्त्रतामा बाधा हुने बताए । साथै उनले आफू सङ्घको सम्झौतामा नरहेता पनि देशका लागि खेल्ने कुरा स्पष्ट रूपमा बताए।

केन्द्रीय सम्झौतामा समावेश नभए पनि देशका लागि खेल्ने खेलाडी नेपालका सन्दीप मात्र होइनन् विश्व चर्चित खेलाडीहरू पनि केन्द्रीय सम्झौतामा समावेश गरिएका छैनन् । अन्त्यमा यो निर्णय खेलाडी आफैँमा निहित हुने गर्छ । केन्द्रीय सम्झौता अस्वीकार गरेकै कारण राष्ट्रिय टोलीबाट नखेल्ने भन्ने हुँदैन । र सन्दीपले पनि यो निर्णय लिन लागेका होइनन् । उनी आफैले पनि भनेका छन् ‘स्पष्ट हुनुहोस्—म सधैँ जस्तै जोस र समर्पणका साथ नेपालको लागि खेल्न जारी राख्नेछु। त्यो गर्व र जिम्मेवारी सधैँ मेरो हृदयको नजिक रहनेछ।’ यसको मतलब पनि उनी राष्ट्रिय टिमबाट टाढा हुने भन्ने होइन ।

अर्को कुरा अन्य विश्व चर्चित खेलाडीहरू पनि केन्द्रीय सम्झौतामा समावेश गरिएका छैनन् ।

अन्तर्राष्ट्रिय सन्दर्भ यस्तै के भयो अरू देशमा ?

सन्दीपको निर्णय अनौठो होइन। अन्तर्राष्ट्रिय क्रिकेटमा पनि यस्ता घटनाहरू भएका छन्। न्यु जिल्यान्डका पूर्व कप्तान केन विलियम सन, पेस बलर ट्रेन्ट बोल्ट, वेस्ट इन्डिजका निकोलस पूरन र आन्द्रे रसेल, इंग्ल्याण्डका जेसन रोयलगायतका विश्व चर्चित खेलाडीहरूले पनि केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर निर्णय लिएका छन् ।

अस्ट्रेलियाका मार्कस स्टोइनिस बोर्डबाटै केन्द्रीय सम्झौतामा परेका छैनन् । छिमेकी देश भारतका कै खेलाडी श्रेयस अय्यर पनि बीसीसीआईबाट २०२४ को केन्द्रीय सम्झौतामा परेका थिएनन् । यसरी हेर्दा सन्दीपले गरेको उक्त निर्णय नौलो र अनौठो मान्नु पर्ने होइन र छैन पनि । फरक यति हो अब उनी क्यानको सम्झौतामा छैनन् । तर पनि उनले देशका लागि खेल्न रोकिने छैन । उनले केन्द्रीय सम्झौता अस्वीकार गरे पनि राष्ट्रिय टिमका लागि उपलब्ध हुने बताएका छन्। यसले प्रस्ट पार्दछ कि उनी पूर्ण रूपमा क्रिकेटबाट अलग हुने पक्षमा छैनन्। 

सन्दीपको निर्णय व्यक्तिगत कि राजनीतिक, क्यानको प्रतिक्रिया ? 

सन्दीप लामिछानेको यो निर्णय एउटा व्यक्तिगत स्वतन्त्रताको घोषणाजस्तो देखिए पनि, यसले संस्थागत र व्यवस्थापकीय कमजोरीतर्फ सङ्केत गर्छ। खेलाडी र सङ्घबिचको सम्बन्ध विश्वास र पारदर्शितामा आधारित हुनुपर्छ। यदि त्यहाँ राजनीतिक हस्तक्षेप, आन्तरिक गुटबन्दी वा पक्षपात हाबी हुन्छ भने, खेलाडीहरू स्वतन्त्रताको बाटो रोज्न बाध्य हुन्छन्।

अब हेर्न बाँकी अब सन्दीप र क्यानको सम्बन्ध र कता मोडिन्छ ? एकातिर सन्दीपको प्रतिभा नेपाली क्रिकेटका लागि आवश्यक छ, अर्कोतिर संस्थासँग–अनुशासनमा रहनुपर्ने अपेक्षा पनि हुन्छ ।

हाल भने क्यानले सन्दीपको निर्णयलाई सार्वजनिक रूपमा लिएर तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर भित्रभित्रै सङ्घमा असन्तोष रहेको अनुमान गरिएको छ । केही अधिकारीहरूका अनुसार, खेलाडीको अनुशासन र व्यवस्थापनको सवालमा यस्तो कदमले नकारात्मक असर पार्न सक्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *