डा. रामप्रसाद दाहालद्वारा लिखित ‘जोडिएका कुरा’ कृतिको विमोचन, दीपेन्द्र बस्नेतलाई साहित्य सेवी सम्मान
काठमाडौं । वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाललाई “सेवा सदन विशिष्ट सृजना सम्मान–२०८२” बाट सम्मानित भएका छन् ।
काठमाडौँमा आयोजित समारोहका बिच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं सुप्रसिद्ध कवि बैरागी काइँलाले दाहाललाई सम्मान गरेका थिए । सोही अवसरमा दाहालद्वारा लिखित समालोचना-सृजनात्मक कृति ‘जोडिएका कुरा’ को पनि विमोचन गरिएको थियो । विमोचन गरिएको उक्त कृतिका बारेमा समारोहमा बोल्दै पूर्व कुलपति कवि बैरागी काइँलाले दाहालले शिक्षा, साहित्य र गीत लेखनमार्फत नेपाली समाजमा पुर्याएको योगदान विशिष्ट र सन्देशपरक रहेको बताए। उनले ‘जोडिएका कुरा’ कृतिमा नयाँपन रहेको र पाठकका लागि यो उपयोगी हुने विश्वास व्यक्त गरे । सम्मानित हुने दाहाल र सम्मानको आयोजना गर्ने संस्था सेवासदन दुवैलाई उनले बधाई दिए । सोही समारोहमा कृतिको डिजाइन तथा लामो समयदेखि साहित्यका कृतिमा महत्त्वपूर्ण योगदान पुर्याएका दीपेन्द्र बस्नेतलाई “साहित्य सेवी सम्मान” प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारहरू रोचक घिमिरे, शैलेन्द्र साकार, चट्याङ मास्टर, राजेन्द्र केसी, ठाकुर शर्मा भण्डारी, प्रा. माधव घिमिरे, सन्ध्या पहाडीलगायतले प्रा. डा. दाहालको बहुआयामिक योगदानको चर्चा गरेका थिए। वक्ताहरूले ‘जोडिएका कुरा’ कृतिले नेपाली समालोचना क्षेत्रमा छुट्टै पहिचान दिलाउने विश्वास व्यक्त गरे । आफ्नो मन्तव्यमा लेखक डा. दाहालले कृति सृजनाको प्रेरणा र उद्देश्यबारे चर्चा गर्दै सेवा सदन र समारोहमा उपस्थित सबैप्रति आभार व्यक्त गरे। सेवा सदन विद्यालय, बतीसपुतलीद्वारा आयोजित कार्यक्रममा शिक्षिका शर्मिला तिमिल्सिनालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शर्मिला तिमिल्सिनाले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य कल्पना गिरीले दिएकी थिइन्।
समारोहमा साहित्य, संस्कृति, संचार, शिक्षा तथा समाजका विभिन्न क्षेत्रका पाँच दर्जनभन्दा बढी विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एक दर्जन चर्चित कविहरूद्वारा कविता वाचन गरिएको थियो भने गायिका रीतु कँडेल, अञ्जु गौतम र सुमित खड्काले साङ्गीतिक प्रस्तुति दिएका थिए।

