विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु
रुकुमपश्चिम । रुकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहीबार राति मुसीकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको थियो।
खड्का नेपाल विद्युत प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत रहेको बताइएको छ। रुकुमपूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको हो।
केन्द्रीय प्रसारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइँदा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।