पूर्व राजा कि अन्तिम राजा ?

नेपालको समकालीन इतिहासमा २०६२।०६३ को जनआन्दोलन कुनै आकस्मिक घटना थिएन। यो आन्दोलन दशकौँदेखि थिचिएको जनइच्छा, असन्तुष्टि र स्वतन्त्रताको तिर्सनाबाट विस्फोट भएको एउटा ऐतिहासिक विद्रोह थियो। जब राजा ज्ञानेन्द्र शाहले लोकतान्त्रिक संविधानको उल्लङ्घन गर्दै कार्यकारी अधिकार आफूमा केन्द्रित गरे, त्यस दिन नेपालमा राज्य केवल एक व्यक्तिको इच्छा अनुसार चल्ने अधिनायकवादी शासकीय प्रयोगशालामा परिणत भयो। उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्थ गरेर संवैधानिक मर्यादा कुल्चिँदै आफू संवैधानिक राजाबाट ओर्लिएर मन्त्रिपरिषद्को अध्यक्ष बनेकै दिन राजतन्त्र समाप्त पारिसकेका हुन् । त्यस बेला सञ्चारमाध्यमहरू नियन्त्रणमा लिइए, मानवअधिकारका आवाजहरू दबाइए र राजनीतिक दलहरूलाई अपराधीकरण गरियो। यही निरंकुशताको विरुद्ध सात प्रमुख लोकतान्त्रिक दलहरू, नागरिक समाज, विद्यार्थी सङ्गठन, महिला, श्रमिक, दलित, जनजाति समुदाय तथा पत्रकारहरू एउटै आवाजमा उत्रिए र भने ‘प्रजातन्त्र फिर्ता गर। त्यस पछि आन्दोलनको औपचारिक यात्रा सुरु भयो । राजधानी काठमाडौँ, पोखरा, धरान, बिर्तामोड, नेपालगन्ज, हेटौँडा, विराटनगर, बुटवलदेखि सुदूर पश्चिमका गाउँ–सहरसम्म लाखौँ जनता सडकमा ओर्लिए। आन्दोलन एक दिनको आवेग थिएन । यो निरन्तर १९ दिनसम्म चलेको जनशक्ति र सहनशीलताको ऐतिहासिक महायात्रा थियो । यद्यपि आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र लोकतान्त्रिक मूल्यमा आधारित थियो, राज्यसत्ताको प्रतिक्रिया पूर्णतः सैन्यकृत र दमनकारी रह्यो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष आदेशमा बनाइएको मन्त्रिपरिषद्का गृहमन्त्री कमल थापा आन्दोलनको दमन संयन्त्रका मुख्य चालक थिए। उनले मिडिया र सार्वजनिक वक्तव्यहरूमा आन्दोलनलाई देशको अखण्डता विरुद्धको षड्यन्त्र भनेर चित्रण गरे र त्यसलाई रोक्न आवश्यक सबै कदम चालिने घोषणा गरे। यो भाषा प्रशासनिक थिएन, यो चेतावनी थियो र त्यो चेतावनीपछि ‘दम दम गोलीको आवाज गुन्जिन थाल्यो। काठमाडौँ उपत्यकामा प्रदर्शनको उत्कर्षमा निषेधाज्ञा जारी गरियो। त्यही निषेधाज्ञालाई तोडेर जब नागरिकहरू राता ब्यानर, बुलन्द आवाज र सङ्कल्पसहित सडकमा ओर्लिए, त्यहाँ गोली र लाठीले स्वागत गरियो। प्रदर्शनकारीहरूलाई पछ्याउने, घिसार्ने, टाउकोमा लाठी प्रहार गर्ने, र भीडलाई तितरबितर पार्न अश्रुग्याँस, रबर बुलेट मात्र होइन प्रत्यक्ष गोली प्रहार गरियो। आन्दोलनका क्रममा कम्तीमा २१ जना नागरिकको ज्यान गयो र ५,००० भन्दा बढी व्यक्ति गम्भीर घाइते भए । कैयौँ अपाङ्ग भए। त्यस बेलाको सबैभन्दा डरलाग्दो घटना थियो—हेलिकप्टरबाट आन्दोलनकारीमाथि गोली बर्साइनु । देशको इतिहासमा पहिलो पटक यस्तो सैन्य शैली प्रयोग गरिएको थियो जुन नेपालले यसअघि देखेको थिएन। सिराहा, सप्तरी, बाँके, बर्दिया र चितवन लगायतका जिल्लाहरूमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरियो र गाउँको भीड माथिबाट हेर्दै भय सिर्जना गर्दै हावामा तैरिँदै गोली चलाउने आदेश दिए कमल थापाले । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, आकाशबाट आएको त्यो वर्षा ‘दम दम नामक गोलीको थियो । INSEC, Amnesty International, Human Rights Watch, र Asian Centre for Human Rights लगायतका संस्थाहरूले स्पष्ट रूपमा उल्लेख गरेका छन् कि नेपाली सुरक्षा बलले अत्यधिक बल प्रयोग, मनमानी गिरफ्तारी, अमानवीय व्यवहार र मृत्युदण्ड सरहको गोली प्रहार गरे। Amnesty International को प्रतिवेदनमा लेखिएको छ—“The security forces, under the direct authority of the royal government, used disproportionate force—including aerial gunfiret o suppress peaceful protesters.।”
यस प्रकारको सैन्य दमन केवल प्रशासनिक निर्णय मात्र थिएन । यो राजनीतिक आदेश थियो । जसको प्रत्यक्ष जिम्मेवारी तत्कालीन गृहमन्त्री कमल थापा र प्रत्यक्ष शासक राजा ज्ञानेन्द्रको थियो। तर दुर्भाग्यवश, आजसम्म उनीहरूलाई कुनै राजनीतिक वा कानुनी जबाफदेही बनाइएको छैन। कमल थापाले जनआन्दोलनलाई अराजकता करार गर्दै दमनको बचाउ गरे, संसद् पुनर्स्थापनापछि समेत उनले आन्दोलनमाथि गरिएको बल प्रयोगको कुनै क्षमा याचना गरेनन्। तर नेपाली जनताको साहस बलियो थियो। आन्दोलन जारी रह्यो । बलिदानहरू बढिरहे, सङ्कल्प झन् दृढ बनिरह्यो। अन्ततः जनताको शक्ति बुझ्न बाध्य भए तत्कालीन राजा ज्ञानेन्द्र । उनले राष्ट्रिय प्रसारणमार्फत संसद् पुनर्स्थापनाको घोषणा गरे। यो घोषणासँगै निरंकुशताको अध्याय समाप्त भयो। सशस्त्र शासन समाप्त भयो। जनशक्तिको विजय भयो। यो विजय नागरिक साहस र चेतनाको क्रान्ति थियो। त्यस आन्दोलनबाट प्राप्त उपलब्धिहरू संविधान सभा, गणतन्त्रको घोषणा, सङ्घीयता र समावेशिता सबैको जरा यही बलिदानमा गाडिएको छ। तर आज पनि ती आँखा जसले गोली देखे, जसले हेलिकप्टरबाट बर्साइएका ‘दम दम गोलीको चोट सहे, ती शरीर जसले लाठी र बन्दुकको चोट बेहोरे उनीहरूको घाउ अझसम्म पुरिएकै छैन। अनि तिनै निरकुंश खलनायक कमल थापा सडकमा लम्पसार परेर जनताको सहानुभूति बटुल्न फेरि नयाँ नाटकमा नायक भएको भ्रम बाडीरहेछन् । पत्याउने अब फेरी ? प्रिय मित्र राजेन्द्र लिङदेन !  तिमी त लोकतन्त्रलाई स्वीकार गरेर देशको उपप्रधान मन्त्री बनिसकेका व्यक्ति हौ । यो भ्रमको अन्त्य गर राजा आउँदैनन् । तिमिलाई थाहा छ ०४७ सालको संविधान उत्कृष्ट थियो । यिनै पूर्व राजाले अन्त्य गरे। तर मैले अन्तिम राजा भनिन संविधानबाट ल्याऊ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *