ट्रेड टावरको आईपीओमा मागभन्दा झण्डै ८ गुणा बढिको आवेदन
काठमाण्डौं । ट्रेड टावर लिमिटेडद्वारा जारी गरिएको साधारण शेयर (आईपीओ) मा अन्तिम दिनसम्म कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझ ५ः०६ बजेसम्म २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन्, जसअन्तर्गत २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता शेयरको माग गरिएको छ। कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।
मागको आधारमा हेर्दा, आवेदन ७.८२ गुणा बढी परेको देखिएको छ । ट्रेड टावरले आफ्ना कुल जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो। जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। सो तर्फको बाँडफाँडपश्चात बाँकी शेयर आम नागरिकका लागि खुला गरिएको हो ।