आज पनौती जात्रा मनाइँदै
काठमाण्डौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको आज मुख्य दिन हो । आज पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एकापसमा जुधाइन्छ । जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु आजको जात्रामा सहभागी हुन्छन् । पार्वतीले ६४ योगिनीको रुप धारण गरी भगवान महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि भैरव र महादेवको रुप धारण गरी पार्वतीलाई यौनकार्य गरेको धार्मिक कथासँग यो जात्रा सम्बन्धित छ । जात्राको पहिलो दिन जेष्ठ शुक्ल त्रयोदशीको साँझ परम्परा अनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेर्स्याएपछि नगरका देवगणलाई पानीबाट तारेर जात्रा सुरु भएको मानिन्छ । त्यसपछि बासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाडेर बासुकी नागलाई गाईको दूध चढाउने प्रचलन छ । पहिलो दिन देवघरबाट ब्रह्मायणी र भद्रकालीको मूर्ति निकालेर त्रिवेणीघाटमा लगि एउटा राँगो, दुई बोकाको बली दिई जग्गे गरेर कालरात्रिको पूजा गरिन्छ । दोस्रो दिन हिजो (मंगलबार) पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिएको थियो । हरेक घरले भद्रकाली, ब्रह्मायणीका साथै पनौतीभित्र रहेका सबै देवीदेवताको पूजा गर्ने गर्दछन् र प्रत्येक घरमा जात्राको भोज हुने गर्दछ । विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । जात्राको अन्तिम दिन आज (बुधबार) पनौतीबासीले पुण्यमती र रोशमती (रोशी) नदीको संगममा स्नान गर्दछन् । दुई नदीको संगमस्थलमा स्नान गर्नाले कुनै पनि रोग नलाग्ने विश्वास छ । स्नानपछि ब्रह्मायणी र इन्द्रेश्वर महादेवलाई लायकु दरबार परिसरमा ल्याई भद्रकाली, भैरव र महादेवको रथ एकापसमा जुधाइन्छ । भद्रकाली र उन्मत्त भैरवको रथ तीन पटक तथा भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन छ । तीन वटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई श्रृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र उक्त यौनकार्य मर्यादित, नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्य बताउँछन् । जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने (रोपाइँ शुरु गर्ने) परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिन्छ । जात्रा अवधिभर वर्षा शुरु हुने किंबदन्ती छ । पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि सम्बन्धित रहेको इन्द्रेश्वर महादेव मन्दिरका पुजारी रमेश जंगमले जानकारी दिए ।किवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आएको छ ।