उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालद्धारा नेदरल्याण्ड् पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनायो । वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १ १ विकेट हात पारे । नेपालका लागि ओडिआईमा डेब्यू गरेका नन्दनले डेब्यूमै शानदार बलिङ गरे । उनले ओपनर म्याक्स ओ डाउड, तल्लोक्रममा सेट भइरहेका रोलफ भान डर मर्वे र काइल क्लेइनको विकेट लिएका थिए । सबै विकेट क्याचआउटको रूपमा आए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आरिफ शेखको संयमित ब्याटिङमा ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आरिफले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो । योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ । योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *