सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ छ  :  मन्त्री यादव

बिराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताउनु भएको छ । बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो । मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ ।” सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि संघीय सरकार, उपभोक्ता समिति, स्थानीय तह र नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताउनुभयो । सबैलाई “स्वच्छ पानी, समुन्नत जीवन” को यात्रामा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गर्नु हुँदै उहाँले भन्नुभयो, “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ । हाम्रो उदेश्य भनेको जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो । कम्तीमा १८ वर्षदेखिको प्रतीक्षा सकिएको उल्लेख गर्नु हुँदै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । स्थानीय नेतृत्व, जनसहभागिता र दीर्घकालीन प्रतिबद्धताको सशक्त प्रतिफलस्वरूप, आज यो आयोजना औपचारिक रूपमा खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।” यस आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले बताउनुभयो । उहाँका अनुसार अबदेखि बिराटनगर महानगरपालिका–१४ का बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा नेपाल खानेपानी संस्थान, बिराटनगरमार्फत संस्थागत ढङ्गले उपलब्ध गराइनेछ, भने यहाँको जनजीवनमा समेत गुणस्तरीय सुधार ल्याउनेछ भन्ने अपेक्षा छ । यो आयोजनाको निर्माण तथा सञ्चलनका निम्ती जग्गा उपलब्ध गराउन लक्ष्मीनारायण मन्दिर संरक्षण समिति, जतुवाले बिसं २०६५ साल जेठ ६ गते निर्णय गरेको थियो । यो आयोजना बिराटनगर–१४ का बासिन्दाहरूका लागि मात्र सीमित नरही, छेउका वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका नागरिकहरूका लागि पनि गुणस्तरीय खानेपानी सेवा विस्तारको सम्भावना बोकेको महत्वपूर्ण पूर्वाधार भएको संस्थानले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *