काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियान

काभ्रेपलाञ्चोक । यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् ।

हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको गत जेठ मसान्तमा महाभारत गाउँपालिकाले घोषणा गर्यो । शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएपछि गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले उक्त गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरेका हुन् ।

नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए। उक्त पालिकाभित्र आठवटा वडामा ५० विद्यालय छन् । तीन हजार ४८४ घरपरिवारमा हाल सर्वेक्षण गर्दा विद्यालय उमेरका पाँचदेखि १३ वर्ष उमेर समूहका तीन हजार ६७२ बालबालिका रहेको जनाइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएपछि दिगोपनाका लागि जनप्रतिनिधिलगायत सरोकारवालाले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन् ।

यसअघि खानीखोला र बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको थियो । खानीखोलाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको थियो । गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका बिद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको थियो । उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोकले गत वर्ष असार पहिलोसाता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको थियो । सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ । अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम लिन पाउने छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *