वरिष्ठ साहित्यकार तथा गीतकार वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित

काठमाडौँ । प्रतिष्ठित उद्यमी वरिष्ठ साहित्यकार तथा गीतकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को बुधबार ललितपुरको पुल्चोकमा विमोचन भएको छ । उपन्यासले दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य र त्यसबाट उत्पन्न द्विविधामा अलमलिएको पुरुष चेतनालाई सविस्तार वर्णन गर्ने प्रयास गरिएको छ। ‘देवयानी’ले फरक अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बिचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकतालाई प्रबल रूपमा प्रस्तुत गरेको छ। यसले सम्बन्धहरूमा आउने जटिलता र मानवीय मनोभावको गहिराइलाई केलाउने प्रयास गरेको देखिन्छ। विमोचनलगत्तै भिडियो सन्देशमार्फत् साहित्यकारहरू उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, कुमारी लामा, बबिता बस्नेत, अमर न्यौपाने र उमा सुवेदीको पाठकीय टिप्पणी प्रस्तुत गरियो ।पाठकीय मन्तव्यमा साहित्यकारहरूले उपन्यासले केही पृथक कथा बोकेको, नेपाली समाजको एउटा पाटो इंगित गरेको, समाजका अनेक चरित्रलाई खुलाइएको चर्चा गर्दै उपन्यासको केन्द्रविन्दु प्रेम भएको र जीवन प्रेमभन्दा पर नभएको उल्लेख गरे । कार्यक्रमको अर्को चरणमा कलाकार दिव्यदेव र कृतिकार चौधरीबीच संवाद सम्पन्न भयो । संवादका क्रममा उपन्यासकार चौधरीले जीवनको यो समयमा आएर केही नयाँ गर्न मन लाग्यो र उपन्यास लेखेको बताए । उपन्यास लेख्न आफूलाई दुई वर्ष लागेको उनको भनाइ थियो ।

एक प्रश्नको उत्तरमा चौधरीले भने, अनादिकालदेखि आजसम्म कुनै चिजस्थिर रहेको छ भने त्यो हो प्रेम । हामी सबैले जाने बुझेको कुनै कुरा छ भने त्यो पनि प्रेम नै हो ।” उपन्यासकार चौधरीले आफूले इमानदार भएर यो आख्यानकृति लेखेको बताउँदै कृति पाठकलाई सुम्पिएको बताए । उक्त अवसरमा प्रकाशकका तर्फबाट साहित्यकार अन्विका गिरीले नेपाली समाजको छट्पटाहट उपन्यासमा आएको बताइन् । साहित्यकार चौधरीका गीत, कविता, गजल, निबन्ध गरेर दर्जनौँ कृति प्रकाशित छन् । सार्वजनिक उपन्यास साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । यसअघि चौधरीका निबन्ध, गीत, कविता गरी करिब दुई दर्जन कृति प्रकाशित छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *