एआईजी तथा गीतकार टेक तामाङको ‘सांगीतिक साँझ २०८२’ हुने

काठमाडौंँ । चर्चित गीतकार टेक तामाङको पहिलो एकल ‘सांगीतिक साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार कार्यक्रम हुन लागेको छ । गीतकार संघले आयोजना गर्ने कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको छ । गीतकार तामाङको अहिलेसम्म सयौं गीत रेकर्ड छन् । एकल साँझमा तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने भएको छ । एकल साँझका लागि चयन भएका गीतमा नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मनपर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं शैलुङ्ग छन् । प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायकगायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दीप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतमा गुञ्जिने छन् ।

कार्यक्रम सम्पन्न गर्न संघका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा समिति गठन भएको छ । कार्यक्रमले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्धनमा भूमिका खेल्ने आयोजकको आशा छ । २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् । उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह ‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह– ‘स्वदेश’, आधुनिक गीतसंग्रह – ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह( ‘आमा’, आधुनिक गीतसंग्रह –‘नाता’, भजनसंग्रह –‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह –‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्‍याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *