इरानले इजरायलतर्फ हान्यो मिसाइल
काठमाडौं । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।
साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ । इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।