औषधि कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६

काठमाडौँ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जी.भी. नारायण रावले बताउनुभयो ।

अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको छ ।

करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ । “कारखानाको सम्पूर्ण संरचना भत्किएको छ । आगो निभाइएको छ र हामी आगामी केही घण्टामा भग्नावशेष हटाउने काम सकिने आशा गर्छौं”, रावले भन्नुभयो ।

रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको थियो, जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ । राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोट हुँदा कारखानाभित्र एक सय आठ कामदार रहेको जानकारी दिनुभयो ।

“शवहरू नराम्ररी जलेको र विकृत भएपछि डिएनए परीक्षण गर्न विशेष मेडिकल टोली तैनाथ गरिएको छ”, राज्य सरकारले घटनाको कारण अनुसन्धान गर्न प्यानल गठन गरेको उल्लेख गर्दै नरसिंहले भन्नुभयो । प्रत्यक्षदर्शीहरूले घटनास्थलबाट केही किलोमिटर टाढाबाट विस्फोटको आवाज सुनेको बताएका छन् ।

भारत विश्वका केही शीर्ष औषधि कम्पनीहरूको घर हो । औषधि कम्पनीहरूले जेनेरिक औषधि र खोपहरूको विश्वव्यापी आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्छन् । देशको बलियो उत्पादन र लागत प्रभावी उत्पादनले यसलाई फार्मा दिग्गजहरूका लागि केन्द्र बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *