एशियन लाइफको रेटिङ उक्लिँदै ‘ए’ श्रेणीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ उक्लिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ एक श्रेणीले सुधार गर्दै सिंगल ए (इश्युअर) मा पुर्‍याएको हो। यसअघि कम्पनीको रेटिङ सिंगल ए माइनस (इश्युअर) मा रहेको थियो। इन्फोमेरिक्स नेपालका अनुसार ए रेटिङ पाएका इश्युअरलाई वित्तीय दायित्वहरू समयमा पुरा गर्ने मामिलामा पर्याप्त सुरक्षा रहेको मानिन्छ। यस्तो रेटिङ प्राप्त कम्पनीमा कम क्रेडिट जोखिम हुने विश्वास गरिन्छ। एशियन लाइफ इन्स्योरेन्सको पछिल्लो वित्तीय स्थायित्व, व्यवसायिक सञ्चालन, बीमा शुल्क आम्दानी तथा लाभांश क्षमता आदिलाई मूल्याङ्कन गरी रेटिङ सुधार गरिएको हो। यो रेटिङले कम्पनीप्रति लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०८०।८१ मा एशियन लाइफले अघिल्लो वर्षको तुलनामा वित्तीय र सञ्चालन पक्षमा उल्लेखनीय प्रगति गरेको छ। कुल बीमा शुल्क, शुद्ध बीमा शुल्क, मूर्त नेट सम्पत्ति, सञ्चालन नाफा र करपछिको नाफामा क्रमशः १५, १४, १४, १३ र १८ प्रतिशतको वृद्धि भएको छ। नयाँ बीमा योजनाबाट आएको १९ प्रतिशत वृद्धि र नविकरण बीमा शुल्कमा देखिएको १२ प्रतिशत वृद्धिले कम्पनीको बजार रणनीति प्रभावकारी रहेको संकेत गरेको छ।

कम्पनीको लगानी रणनीति पनि थप सुदृढ भएको देखिन्छ। चालु आर्थिक वर्षमा कम्पनीको लगानी पोर्टफोलियो करिब १० प्रतिशतले बढेको छ। विशेषगरी, यति एयरलाइन्स लिमिटेडमा ४७ प्रतिशत स्वामित्व खरिद गरी हवाई सेवा क्षेत्रमा कम्पनीले पाइला टेक्नु उल्लेखनीय उपलब्धि हो। यसअघि होटल, धितोपत्र र पूँजी बजारमा केन्द्रित लगानीमा अब हवाई सेवा पनि थपिएपछि आम्दानीमा विविधिकरण हुने अपेक्षा गरिएको छ। एशियन लाइफ सन् २००८ देखि सञ्चालनमा आएको बीमा कम्पनी हो। देशभर ७४ जिल्लामा फैलिएका १३२ शाखा कार्यालयमार्फत कम्पनीले सेवा दिँदै आएको छ। अनुभवी व्यवस्थापन टोली, पर्याप्त पुनर्बीमा सुरक्षाकवच, प्रत्येक बीमा नीतिमा कम जोखिम धारण र प्रकोप बीमा प्रणाली जस्ता पक्षहरूले कम्पनीको स्थायित्वमा बल दिएको छ। चालु आर्थिक वर्षको मध्य(अप्रिलसम्म कम्पनीको नीतिगत कोष ४६ अर्ब रुपैयाँ पुगेको छ भने प्रकोप आरक्षित कोष २६१ मिलियन रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *