नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक

काठमाण्डौं । नेपाल टेलिकमले ग्राहक सन्तुष्टि र प्रविधिगत सहजतालाई प्राथमिकता दिँदै यस वर्षको मनसुन सिजनलाई लक्षित गर्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। भोलि अर्थात असार २६ गतेदेखि लागू हुने उक्त अफर अन्तर्गत टेलिकमले विभिन्न आकर्षक भ्वाइस, डाटा तथा एसएमएस प्याकेजहरू उपलब्ध गराउने भएको छ। ग्राहक सेवा नै पहिलो भन्ने नारासहित कम्पनीले प्राप्त भएका सुझाव, प्रतिक्रिया र प्रयोगशैलीलाई मध्यनजर गर्दै यो अफर ल्याएको जनाएको छ। विशेषगरी यस पटक अफर अन्तर्गत शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेजहरू उपलब्ध गराइनेछन्।

साथै, ‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ। नेपाल टेलिकमले विगतदेखि नै उपभोक्ताको आवश्यकता अनुसार सुलभ दरमा सेवा विस्तार गर्दै आएको छ। मनसुन अफरमार्फत डिजिटल सेवामा पहुँच बढाउनुका साथै, डिजिटल समावेशीकरणलाई टेवा दिने कम्पनीको उद्देश्य रहेको छ। ग्राहकहरूले  *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एपमार्फत उपलब्ध प्याकेजहरूबारे जानकारी लिन सक्नेछन्। त्यस्तै, सोही माध्यमबाट सेवाहरू खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। नेपाल टेलिकमको यो अफरले विशेषगरी ग्रामीण तथा पहुँचविहीन क्षेत्रका ग्राहकहरूलाई प्रविधिमा जोड्ने काम गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *