कैदीको मृत्यु प्रकरणमा संलग्न प्रहरी सई हरजीत नाथ पुर्पक्षलाई थुनामा
काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
कैलाली जिल्ला अदालतमा सोमबार सम्पन्न थुनछेक बहसपछि अदालतले सई नाथलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले अदालतको आदेशअनुसार नाथलाई कारागार चलान गरिएको पुष्टि गरे। घटना असार २ गतेको हो । डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली जिल्ला कारागारमा रहँदा मृत्यु भएको थियो। उनलाई राति कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएको थियो र उपचारका क्रममा प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको थियो।
पालीलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरिएको थियो। ३० गते धनगढी ल्याइएको पालीलाई शनिबार परेको कारणले १ असारमा अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई सोही दिन जेल चलान गरिएको थियो।
मृतक पालीका विरुद्ध बैंकिङ कसुर मुद्दा थियो। सई नाथकै जाहेरीमा अदालतले उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। तर, पालीकी पत्नी जानकी सावदले अदालतमा दिएको किटानी जाहेरीमा सई नाथमाथि पालीको मृत्युमा संलग्न रहेको आरोप लगाएकी थिइन्। उनका अनुसार, नाथको योजनामा पालीलाई कारागारभित्र कुटपिट गरी हत्या गरिएको हो।
त्यसै जाहेरीका आधारमा प्रहरीले नाथलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। अब अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहनेछन।