कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउँदा…
हुम्ला । कुष्ठरोगको आशङ्कामा करिब छ वर्षदेखि छाउगोठमा बस्न बाध्य भएका सिमकोट गाउँपालिका–८ याङगुका ५६ वर्षीय धनवीरे कामीलाई उद्धार गरिएको छ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत कामीलाई उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए। डा. तिवारीका अनुसार कामीलाई जिल्ला अस्पतालमा उपचार थालिएको छ। आफन्तले कुष्ठरोगी भनी छुट्ट्याए पनि प्रारम्भिक परीक्षणमा उनलाई कुष्ठरोग नभएको पुष्टि भएको छ । थप स्वास्थ्य परीक्षणपछि मात्र सही रोग पत्ता लाग्नेछ।
स्वास्थ्य सेवा कार्यालयले कामीलाई निःशुल्क उपचार उपलब्ध गराउने पनि अस्पताल प्रमुखले जानकारी दिनुभयो । उनको खुट्टा र शरीरका केही भाग नचल्दा शारीरिक अपाङ्गता देखिएको छ। साथै हातखुट्टाका औँलामा बाङ्गोपन र हिँडडुलमा कठिनाइ छ। घरपरिवार र गाउँलेले अन्धविश्वासका कारण उनलाई छाउगोठमा राखेको जनाइएको छ । छाउगोठमा बस्दा कामीले उचित उपचार र हेरचाहको अभाव भोग्नु परेको थियो। रातदिनको चिसो, भोक र वेदनाका बीच जिउन बाध्य भएको उहाँका आफन्त जसपाल कामीले बताए।
उनको हेरचाहका लागि भाइहरूले महिनाको पालो बनाएर सहयोग गरिरहेका छन्।