सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता
सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । घटना सार्वजनिक भएपछि स्थानीयवासी र सामाजिक सञ्जालमा चासोको विषय बनेको छ।
स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य एकाएक सम्पर्कविहीन भएका हुन्। हराएका व्यक्तिहरूमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक ज्वाइँ रहेका छन्।
बेपत्ता हुने व्यक्तिहरूको नामावली:
छोराहरू:
राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु
छोरीहरू:
कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु, कोमला हायु
अन्य सदस्यहरू:
- एक बुहारी (नाम खुलाइएको छैन)
- एक नातिनी (नाम खुलाइएको छैन)
- एक ज्वाइँ (नाम खुलाइएको छैन)
आइतबार दिउँसो वडाध्यक्ष श्रेष्ठ र प्रहरी टोलीले बेपत्ता परिवारको घर पुग्दा घरको ढोका खुला अवस्थामा भेटिएको थियो। घरमा सामान्य आगलागी भएको देखिएको छ भने बाख्रा र कुखुराहरू अलपत्र अवस्थामा छाडिएको पाइयो । घटनाले रहस्यमय रूप लिएको छ, किनभने कुनै पनि सदस्यले गाउँ छाड्ने जानकारी कसैलाई दिएका थिएनन् ।
प्रहरीले बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ। सिन्धुली वरपरका जिल्लाहरूमा समेत खोजी अभियान विस्तार गरिएको प्रहरीको भनाइ छ। हालसम्म घटनाको स्पष्ट कारण खुलेको छैन। सामाजिक सञ्जाल र स्थानीयस्तरमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् तर यकिन सूचना आउन बाँकी छ।
प्रहरी र स्थानीय निकायको समन्वयमा थप अनुसन्धान भइरहेको छ । साथै सम्पर्कविहीन भएकाको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ । उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो । हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।