प्रधानमन्त्री ओलीको पाँचदिने चीन भ्रमणको तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई जना मन्त्रीलाई साथमा लिएर आगामी शनिबार (भदौ १४ गते) चीन प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली दुईवटा कार्यक्रममा सहभागी हुन चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन र जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सवको स्मृतिमा भाग लिन चीन जान लागेका हुन् ।

प्रधानमन्त्रीसँगै उहाँकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्च पदस्थ सरकारी अधिकारीहरू चीन जानेछन् । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ १८ गते चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *