विशाल र त्रिवेणी ग्रुपले किने कालिगण्डकी गर्ज जलविद्युत्
काठमाडौं । दुई व्यावसायिक घराना विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । दुवै ग्रुपले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् । ग्रिन भेन्चर्सले ५२.२ मेगावाटको लिखु चार आयोजना सञ्चालन गरिरहेको छ । ग्रिन भेन्चर्स र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच मंगलबार ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने सम्झौता भएको छ । आयोजनाबाट विद्युत् उत्पादनको अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त भइसकेको ग्रिन भेन्चर्सले जनाएको छ । लक्ष्मी सन्राइज बैंकको अगुवाइमा विभिन्न बैंकहरूको सहवित्तीयकरणमा वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ । आयोजना बनाउन ३९ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बैंकको ऋण ७५ र स्वपुँजी (इक्विटी) २५ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ । लक्ष्मी सन्राइज बैंकले ९ अर्ब, ग्लोबल आईएमई बैंकले नौ अर्ब, सिद्धार्थ बैंकले पाँच अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले ३र३ अर्ब र एभरेस्ट बैंकले दुई अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी लगानी स्वपुँजी (इक्विटी) संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल र प्रधान समूहबाट जुटाइने भएको छ । आयोजनामा त्रिवेणी र विशाल ग्रुपको ५१ प्रतिशत, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ । आयोजनाको अध्यक्षमा सुभासचन्द्र सांघाई, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक छन् । अर्धजलाशय आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार, वर्षामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ । जसअनुसार, वर्षामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पीपीए दर तोकेको छ । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बेचेर कम्पनीले वार्षिक सात अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाबाट १७ प्रतिशत प्रतिफल प्राप्त हुनेछ ।
आयोजनाले आउँदो २०८६ असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ । अर्धजलाशय आयोजना ६ घण्टा पिकिङ हुने गरी डिजाइन गरिएको छ । विद्युत्गृहमा ६० मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान गरिने भएको छ । सुरुङको लम्बाइ पाँच किलोमिटर रहेको छ भने हेड ५०० मिटर रहेको छ । आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले आठपटक मूल्यवृद्धि पाउने छ । सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ । आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको छ । यो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । आयोजना म्याग्दीको बेनीबाट २० किलोमिटर टाढा पर्छ । उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणको म्याग्दीको दाना सबस्टेसनमा जोडिने भएको छ । आयोजनाले १ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने भएको छ । त्रिवेणी र विशाल ग्रुपले लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाबाट भर्खरै बिजुली उत्पादन सुरु भएको छ । पछिल्लो समय विशाल र त्रिवेणी ग्रुप जलविद्युत्मा लगानी विस्तार गर्न लागेका छन् । ग्रुपको सिमेन्ट, खाद्य तेललगायत उद्योग व्यवसाय सञ्चालन हुँदै आएको छ । यस्तै, विदेशी ब्रान्डका मदिरालगायत अन्य वस्तु आयात गर्दै आएको छ ।