पद बचाउन विप्लव अस्त्र प्रयोग गर्दै प्रचण्ड
काठमाडौँ । बत्तिस सिट ल्याएर सधैँ सरकारबाट बाहिर बस्न नरुचाउने माओवादीलाई त्यही सत्ता लिप्सा सङ्कटको कारण बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको (प्रचण्ड) निजी सम्पत्ति जस्तो मानिएको सो दलको भविष्य अन्योलग्रस्त बन्नुमा पनि उनै नै जबाफदेही हुनुपर्ने भनेर ठानिँदै छ ।
प्रचण्डको वर्चस्वमाथि चुनौती खडा गर्ने पार्टी नेता जनार्दन शर्मा (प्रभाकर) गौदानमा उत्रिएपछि माओवादी भित्रको अन्तद्र्वन्दले नयाँ रूप लिएको छ । हुन त अझै शर्माले आफूलाई प्रचण्डको नेतृत्वको विकल्पको रूपमा प्रस्तुत भने गरेका छैनन् । उनी पार्टीभित्रको विकृतिको विरुद्ध मात्र उभिएको दाबी गरेका छन् । शर्माको यो कदमले नेतृत्व कमजोर हुने र पार्टी विभाजनतर्फ जाने खतरा रहेको भनेर सामाजिक सञ्जाललाई रङ्गिन बनाउने काम पनि भएको छ । भित्रभित्रै भुसको आगो जस्तो सल्किरहेको अन्तद्र्वन्द्व अब सार्वजनिक मञ्चहरूमा प्रकट भयो, त्यही विन्दुबाट पार्टी टुक्रिने हो कि भनेर चिन्तित रहेको माओवादीभित्रको कोर टिम सल्वलाएको छ । पार्टीभित्र आफूलाई उदार, सहिष्णु, अरूको विचारको कदर गर्ने र लचिलो व्यवहार अपनाउने भनेर प्रचार गरिएका प्रचण्ड वास्तवमा क्रूर, निर्दयी, पदको लालची र पार्टीभित्रका आफ्ना प्रतिद्धन्द्धीलाई निर्दयतापूर्वक पन्छाउने खलनायक भएको माओवादीभित्रै प्रचारित छ । प्रचण्ड आफूलाई माओवादी अध्यक्षभन्दा बाहिर राखेर कल्पना पनि गर्न सक्दैनन् । उनी पार्टी सङ्कट जुन रूपमा पुगे पनि आफ्नो पद सुरक्षित रहोस् भन्ने नै चाहन्छन् ।
यदि त्यस्तो अवस्था आयो भने साम दाम, दण्ड भेद सबै प्रयोग गर्न तत्पर रहन्छन् । राज्यसत्ताको अवसरमा आफूबाहेक अरू कोही नपुगोस् भन्ने उनको चाहानालाई पार्टीभित्रको सानेपा गठबन्धनले असफल पारिदिएपछि बाध्य भएर बाबुरामलाई प्रधानमन्त्री बनाइदिए पनि उनकै असहयोगले बाबुराम असफल भए र खिलराज रेग्मीको गैर राजनीति सरकार बन्यो । पार्टी आफ्नो कब्जाभन्दा बाहिर जान्छ कि भन्ने त्रासमा परिरहने प्रचण्ड खुला रूपमै आफ्ना प्रतिद्धन्द्धीलाई पार्टी छोड्न भन्छन् । उनले रवीन्द्र श्रेष्ठ (प्रभाकर) (प्रधानाङ्ग) लाई दिल्लीको एउटा अँध्यारो कोठामा सिद्ध्याइदिने धम्की दिँदै त्यसै भनेका थिए, जुन कुरा रुकुममा पुगेर जनार्दनलाई भने । अब तपाई र म मा एक जना मात्र रहनुपर्ने भो नेपाली क्रान्तिका लागि म त अनिवार्य नै रहनुपर्छ भनेर तँलाई सिद्ध्याएरै छाड्छु भन्ने धम्की दिने प्रचण्डका हर्कत उनैले भनेका देशी विदेशी दुस्मनका सामु कसरी प्रकट हुन्छन् भन्ने देख्नेको कुनै कमी छैन । पार्टीभित्र एकछत्र वर्चस्व कायम गर्नकै लागि प्रचण्डले मोहन वैद्य, सिपी गजुरेल, विप्लव, बाबुराम र रामबहादुर थापाहरूलाई किनारा लगाएका थिए । उनले प्रतिद्धन्द्धीलाई किनारा लगाउँदै जाँदा पनि एकपछि अर्को गर्दै नयाँ नयाँ प्रतिद्वन्द्वी जन्मिरहेका छन् । बिचमा एक पटक त उनले नारायणकाजी श्रेष्ठलाई समेत आफ्नो बाटो लाग्न खुल्ला चुनौती दिएका थिए । नारायणकाजी हिंसाबाट नआएकाले पार्टीभित्र उनको पकड कमजोर छ । त्यही बुझेर उनले नारायणकाजीलाई धम्क्याएर चुप लगाउन सके । तर जनार्दन त फिल्डमा लडेरै आएकाले प्रचण्डको धम्कीलाई इँटाको जवाफ पत्थरले दिने सामथ्र्य राख्छन् । उनले प्रचण्डलाई पार्टीभित्र सिस्टम कायम गर्न, चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न तीन वर्ष अधि नै पार्टीको मञ्च मार्फत भनेका थिए ।
तर प्रचण्ड मण्डलीले त्यही बेलादेखि यसलाई नकारात्मक रूपले लियो र शर्मालाई विरोधीको आँखाले हेर्न थाल्यो । आफूले षड्यन्त्र र गुटबन्दीको तालिम नलिएको भनेर सार्वजनिक रूपमै घोषणा गर्ने शर्माको पार्टीमा अहिले मजबुत पकड कायम भएको छ । यो कुरा विद्यार्थी सङ्गठनको सम्मेलन, मजदुर सङ्गठन आदिमा र पार्टीको जिल्ला अधिवेशनहरूमा पनि देखिई सकेको छ । षडयन्त्र र जालझेलमा माहिर प्रचण्ड पक्षका लागि शर्मा घाँडो भएको र उनलाई जसरी पनि पन्छाउनुपर्छ भन्ने मत पार्टीभित्र बलियो बन्दै जाँदा नै पार्टी विभाजनको खतरा पनि बढेको शर्मा पक्षीय एक केन्द्रीय नेताको दाबी छ । प्रचण्ड पक्ष भने वैद्य, विप्लव, बाबुराम र रामबहादुर अलग हुँदा त कमजोर नभएको माओवादी जनार्दनलाई हटाउँदा कसरी कमजोर हुन्छ भन्ने तर्फ गर्दै उनलाई पन्छाउन दबाब दिइरहेका छन् । प्रचण्ड त धेरै अघि देखि नै त्यही चाहन्थे । प्रचण्डले जंगलयुद्ध देखि नै पार्टीभित्र कब्जा जमाउन सम्धी, भाइ, श्रीमती, बुहारी सबैलाई पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारी दिँदै आएका थिए । चाउचेस्कूको शैली अनुसरण गरेका प्रचण्डबाटै दीक्षित वर्षमान, जनार्दन देखि साना ठुला सबै नेताले पार्टीमा आफन्त, नातागोता र आसेपासेको डङ्गुर लगाउन थालेका थिए ।
संसद्मा टिकट दिँदा स्थानीय तहको जिम्मेवारी दिँदा हेरिने पहिलो सर्त कसको मान्छे हो र कसको नातेदार भन्ने नै हो । त्यसमा जनार्दन र वर्षमान सबैभन्दा अघि छन् । हुन त प्रत्येक केन्द्रीय नेताले आफूसँगै श्रीमती, छोराछोरी, बहिनी ज्वाइँ, भान्जा भान्जी, भाइ भतिजलाई बाहेक अरूलाई अवसर दिनै हुँदैन भन्ने मान्यता स्थापित गराइसकेका छन् । एउटै मान्यतामा अडेकाहरूबिच पनि अहिले पद हत्याउने खेलले उग्र रूप लिएको छ । अब शर्मासँग रहन सकिँदैन भन्ने लागेपछि प्रचण्डले फेरि अर्को खेल खेलेका छन्, विप्लवलाई भित्र्याउने । मोहन वैद्यहरू पार्टीमा हाबी हुनथालेपछि आफू अल्पमतमा परिने स्पष्ट देखेपछि नै प्रचण्डले पार्टीभित्रको सत्ता जोगाउन रातारात नारायणकाजीहरुलाई भित्र्याएका थिए । नारायणकाजी पक्ष प्रचण्डको साथमा भएपछि त्यसले केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचण्ड चुनौतीहीन बनेका थिए । अहिले विप्लवहरूलाई त्यसै गरी भित्र्याएर पार्टीभित्र खुकुलो बन्दै गएको प्रभावलाई बलियो बनाउन प्रचण्डले नयाँ खेल खेल्न थालेका छन् । हुन त विप्लव भन्दा अघिदेखि नै माधव नेपालको एकीकृत समाजवादीसँग एकताको कुरा उठेको हो । तर समाजवादीलाई ल्याउँदा माधव नेपाल, झालनाथ खनाल, धनश्याम भुसालहरू आफ्ना लागि चुनौती बन्न सक्ने देखेर त्यसमा प्रचण्डहरूले धेरै रुचि देखाएका छैनन् । समाजवादीसँग एकताको प्रचार गरेर पार्टीभित्रको सङ्कट टार्न र पद सुरक्षित राख्ने प्रचण्ड र उनको मण्डलीले चालेको कुनै पनि कदमले माओवादीलाई टुक्राउने, तहसनहस गराउने खतरा छ ।
इमरजेन्सी मार्फत राजनीतिमा आएकाहरूको संसारभरि नै त्यस्तो परम्परा छ । खास गरेर रुसमा सन् १९०५ ताकाको अवस्था र भारतको नक्साइलाइट मुभमेन्ट त्यसको जिउँदो जाग्दो उदाहरण हो । माओवादीले सत्ताको स्वाद चाखेको दुई दशक भइसकेको छ । उसले कम्युनिस्ट शैलीलाई परित्याग गरेको पनि लामो समय भइसकेको छ । तर सत्ताको लिप्सा भने झन् बढेर गएको छ । त्यही प्रवृत्ति उसको विभाजनको कारण बन्न सक्छ ।