परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली
झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजारको एक कुनामा बिहान सबेरै नै फलाम पिटेको आवाज गुन्जिन्छ । त्यो आवाज ७० वर्षे रामकुमार बराइलीको हो, जसको जीवन आरन, हथौँडा र फलामसँगै बाँधिएको छ।
धनकुटा पाख्रिबासमा जन्मिएका बराइली २०३४ सालतिर झापा आएर ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ सुरु गरे। हँसिया, बञ्चरो, चुलेसी, चक्कुजस्ता दैनिक औजार बनाउने उनको पसल किसानदेखि घरधुरीसम्मका लागि अनिवार्य ठेगाना बन्यो। “धान रोप्ने बेला हँसिया, मकै टिप्ने बेला चुलेसी माग्न आउँथे,” उनी सम्झन्छन्। आज उमेरले ७० टेक्दा पनि बराइली बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र औजार कुट्छन्। श्रीमतीसँग गोलधापमै बस्छन्, छोराछोरी सबै आ–आफ्नो बाटो लागिसकेका छन्। तर बराइलीलाई पसल नै प्रिय छ। “मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो,” उनी भावुक हुँदै भन्छन्।
तर उनीसँगै यो परम्परागत सीप हराउने डर बढ्दो छ। “छोरानाति कसैले सिक्न चाहेनन्, सबै सहर वा विदेशतिर लागे। अब मेरोपछि यो काम सकिने भयो,” उनी दुःखेसो पोख्छन्। बराइलीको कथा केवल व्यक्तिगत जीवनको संवेदनशीलता मात्र होइन, देशभरका परम्परागत सीप बोकेका कारीगरहरूको साझा यथार्थ हो। बढैया, शिल्पी, कामी वा लोहारलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ। तर यिनै कारीगरहरू हाम्रो समाजका मौलिक चिनारी हुन्।
बराइली भन्छन्, “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि। तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो।” उनको चाहना व्यक्तिगत मात्र नभई समाज र सरकार दुबैका लागि चुनौती बनेको छ – मौलिक पेसा जोगाउने कि बराइलीसँगै हराउँदै जान दिने?