रास्वपाले रुपन्देही–३ मा आज उमेदवार घोषणा गर्दै
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका निम्ति आज उमेदवार घोषणा गर्ने भएको छ । यस दिन काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकपश्चात् उमेदवार घोषणा गरिने उनले बताए ।
बैठकपश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उमेदवार घोषणा कार्यक्रम हुनेछ, उनले भनेका छन् । सचिवालय बैठकमा रुपन्देही–३ मा उमेदवार छनोट मूल्यांकनबारे छलफल गरिनेछ । प्रवास विशेष अभियान सञ्चालनबारे र विविध विषयमा छलफल गरिने प्रस्तावित एजेन्डा छ । रुपन्देही–३ मा रास्वपाबाट उमेदवारका निम्ति नौजना प्रतिस्पर्धामा छन् । उनीहरूमध्येबाट एक उमेदवार तय गरिनेछ ।