सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डेपुटी सिईओ निराजन कंडेललगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई हार्दिक बधाई दिँदै सानिमा रिलायन्सप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याएको योगदानप्रति आभार प्रकट गरे ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले कम्पनीका मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई निरन्तर प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने जानकारी गराए । त्यसैगरी, डेपुटी सीईओ कंडेलले सफल बीमा सल्लाहकार बन्न आवश्यक सीप र क्षमता विकासबारे सुझाव प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१।८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका सदस्यता लक्ष्य हासिल गर्न सफल सल्लाहकारहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन् भने गायिका समीक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालका प्रस्तुति साथै विभिन्न नृत्य कार्यक्रमले मनोरञ्जनात्मक रंग भरेका थिए ।