दशैंः एकताको अमूल्य सूत्र

नेपाल विविधता र सौन्दर्यले भरिएको अनुपम देश हो । सानो भूभाग भए पनि यहाँ संसारकै अग्ला हिमशिखर उभिएका छन् र सांस्कृतिक, धार्मिक समृद्धिको विशाल भण्डार पनि छ । यहाँ बसोबास सबै जातजाति र भाषाभाषीबीच कायम भएको आपसी सद्भाव आफैंमा अद्वितीय छ । यस उपलब्धिको मूल आधार हाम्रो धर्म, संस्कृति र चाडपर्वमा गहिरो रूपमा निहित छ । नेपालको राजनीतिक इतिहासमा निरन्तर उतार–चढाव भए पनि समाजको सांस्कृतिक तानावाना कहिल्यै भड्किन सकेन । शासन परिवर्तन,आन्दोलन र विवादका बाबजुद हाम्रो समाजले सद्भाव कायम राख्न सफल भएको छ । यसको मुख्य कारण हाम्रो पर्व र परम्पराले बोकेको एकताको अदृश्य शक्ति हो । दशैं, तिहार,छठ जस्ता पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र नभएर साझा पहिचान र सामाजिक एकताको प्रतीक हुन् । अहिले बिजया दशमी अर्थात् बडादशैं नेपालीको घर–घरमा प्रवेश गरेको छ । घटस्थापनादेखि सुरु हुने यो पर्वमा नवरात्रभर दुर्गामाताको पूजा, निलाहार, वर्त र भक्ति भावनाले भरिपूर्ण कार्यक्रमहरू आयोजना हुन्छन् । दशौं दिन टिका र जमरा ग्रहण गरी आशीर्वाद लिनु हाम्रो धार्मिक विश्वास मात्र नभएर पुस्ता–पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउने सांस्कृतिक बन्धन हो । यो पर्व असत्यमाथि सत्यको विजय र दुर्गुणमाथि सद्गुणको प्रतीक पनि हो । आजको समयमा प्रविधि र सामाजिक सञ्जालले नयाँ चुनौतीहरू ल्याएका छन् ।

गलत सूचना र भ्रम फैलाउने प्रवृत्ति बढ्दो छ । कतिपयले धार्मिक र सांस्कृतिक विषयलाई विवादित बनाउने प्रयास गरिरहेका छन्, जसले हाम्रो साझा एकतालाई कमजोर पार्न सक्छ । यसैले हामी सबैले पर्वको वास्तविक भावनालाई कायम राख्न सतर्क रहनुपर्छ । दशैं हाम्रो राष्ट्रिय पहिचान, आत्मसम्मान र सामाजिक एकताको प्रतीक हो । यसले हामीलाई ‘हामी नेपाली हौँ’ भन्ने गर्व र साझा जिम्मेवारीको स्मरण गराउँछ। व्यक्तिगत स्वार्थ, राजनीतिक मतभेद वा वैचारिक भिन्नता भन्दा माथि उठेर हामीले सद्भाव र साझा पहिचानलाई सुदृढ बनाउने प्रतिबद्धता जनाउनुपर्छ । यस बिजया दशमीले सबै नेपालीको मनमा सत्य, सद्भाव र समृद्धिको उज्यालो फैलाओस् । पर्वले हाम्रो समाजमा शान्ति, खुशी र एकताको सन्देश फैलाउन सकोस् । शक्तिरुपा भगवती दुर्गाका नौ रुपहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुश्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा , आराधना गरेर सकल जगतको सुख र समृद्धिको कामना गर्ने पर्व बिजया दशमीको सम्पूर्ण पाठक, विज्ञापनादाता, लेखक, शुभेच्छुक सबैमा हार्दिक मंगलमय शुभकामना । हामी चाहन्छौं, हाम्रा पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुक सबै सबैलाई सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायू मिलोस् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *