दसैँ —एक विकल्पहीन आगमन

आरोह अवरोह माझ
चट्यांग र विनाससँगै
आँधी र तुफान थामिए पछि
असर धेरै बाँकी रहे पनि
शरद फर्किएर आएको छ
उल्लास बोकेर
घामछायाँ जीवनमा
चम्काउँदै खुसीका स्तम्भ
टाढा आकास र नजिक धर्तीमा
रमाए जस्तै चंगा
नओभाएका आँखा
दुखिरहेको मनलाई
सुम्सुम्याउन
शरद फर्किएर आएको छ
फेरी दसैँ लिएर आएको छ ११
भन्दैन परिस्थिति विषम छ
अथवा घाउँ र चोट छ
भत्केको छ, जलेको छ
आँसु छ रोदन छ
राता,सेता अक्षताले
भरेर निधार
सजाएर कपालमा
पहेंलिएका जमराको सुन्दरता
कति आँखा सम्झनाको आँसुमा
कति हृदय संगमको हर्षमा
आँसु र खुसी दुबैमा
प्रिय बन्न आएको छ
शरद फर्किएर
दसैँ लिएर आएको छ !!
नबोलाउँदा पनि आउँछ
बाटो छेक्दा पनि जान्छ
आउँछ र फर्किन्छ
स्मृति दिएर आइरहन्छ गैरहन्छ
आँधी,तुफान आँसु ,खुसी
केहीले छुंदैन
अफ्ठ्यारो र सजिलो केही मान्दैन
बरु सिकाइरहन्छ धैर्य र संयमता
र त वेपरवाह र निश्चिन्त
शरदकै काखमा
आनन्द बोकेर बगिरहेको शारदीय हावामा
झुलीरहेको छ दसैँ, पिङ्ग, मन र खुसीमा !!
बडादसैँ २०८२को हार्दिक मंगलमय शुभकामना !!

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *