आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टिम सार्वजनिक
काठमाडौं । श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट, २०२६ खेल्ने २० टिमको टुंगो लागेको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले विश्वकपको निम्ति छनोट भएका २० राष्ट्रको नाम सार्वजनिक गरेको हो । आईसीसीका अनुसार आयोजक भारत, श्रीलंकासँगै सन् २०२४ मा सम्पन्न क्रिकेट विश्वकपका उत्कृष्ट सात टोलीका रूपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज छन् ।
त्यसैगरी, आईसीसी टी–२० वरीयताको आधारमा विश्वकप प्रवेश गर्ने टोलीमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छन् । अमेरिकी छनोटअन्तर्गत क्यानडाले विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रीय छनोटबाट इटाली र नेदरल्यान्ड छन् । नामिबिया र जिम्बावेले अफ्रिकी क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेका छन् । एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपको टिकट काटेका छन् । भारत र श्रीलंकामा सन् २०२६ को फेब्रुअरीमा प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता मार्चसम्म चल्नेछ ।