पर्यटन व्यवसायी देशबन्धु बस्नेतको डेढ अर्ब लगानीमा इटहरीमा पाँचतारे होटल
काठमाडौं । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा पाँचतारे होटल निर्माण गरेका छन् । केही महिनाअघि मात्रै काठमाडौंमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालनमा ल्याएका उनले इटहरीमा पनि सोही स्तरको होटल निर्माण गरेका हुन् । बस्नेतले गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल मक्युर सञ्चालनमा ल्याएका थिए । त्यसबाट उत्साहित भएर इटहरीमा पनि उनले पाँचतारे होटल निर्माण थालेका हुन् । होटल निर्माण लगभग सम्पन्न भएको छ। उनले रमडा विश्वप्रसिद्ध अमेरिकी चेन होटेल भित्र्याएका छन् । एक अर्ब ६० करोड रुपैयाँ लागतको उक्त होटल ८ तलासहित ८० वटा कोठाको रहेको छ । होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल लगायत सेवा सुविधा रहेका छन् । होटलको ९० प्रतिशत वित्तीय प्रगति भएको जानकारी छ । होटलले रेटिङ पनि गराएको छ । ग्राण्ड सेन्ट्रल होटल प्रालिले निर्माण गरेको होटलका लागि २ अर्ब १३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको हो ।
जसका लागि कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ । होटल सञ्चालनमा आएपछि एक सय बढी जनाले रोजगारी पाउने उल्लेख छ । भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरूलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरूलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका बस्नेत अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा काम गरिरहेका छन् । उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट निर्माण गरेका छन् । पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।
















