आइक्यान र सिआइबीबीच आर्थिक अपराध नियन्त्रणका लागि सहकार्यको समझदारी
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार दुवै निकायबीच आर्थिक अपराध अनुसन्धान, फरेन्सिक अकाउन्टिङ, प्राविधिक सहयोग र सूचना आदानप्रदानमा सहकार्य हुने भएको छ ।
साथै, नक्कली लेखापरीक्षकविरुद्ध कारवाही, लेखापरीक्षणसम्बन्धी जनचेतना अभिवृद्धि र आवश्यक नियमनमा सिआइबीले आइक्यानलाई सहयोग गर्ने व्यवस्था गरिएको छ । समझदारीअनुसार सिआइबीले माग गरेमा आइक्यानले प्राविधिक र विशेषज्ञ सहयोग उपलब्ध गराउनेछ भने सिआइबीका कर्मचारीलाई फरेन्सिक अकाउन्टिङ एन्ड फ्रड डिटेक्सन (एफएएफडी) कोर्समा सहभागी गराइनेछ । दुवै संस्थाले संस्थागत वित्तीय अपराध नियन्त्रणमा यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।















