हामी बिनासर्त एमालेमा फर्कन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन् । बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गरे । ‘हामी विना सर्त एमालेमा फर्कन चाहान्छौँ, त्यो वातावरण बनाइदिन एमालेका नेताहरूलाई आग्रह गर्दछु’, श्रेष्ठले भने, ‘हामी जानेर नजानेर चार वर्ष अघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीतर्फ लागेका थियौँ ।’
यस्तो छ श्रेष्ठको भनाईको पूर्णपाठः
विभिन्न पार्टीहरूमा आएका समस्या, एकता लगायतको विषयमा तपाईँहरू सबै जानकार हुनुहुन्छ। हामी कुनै समूह वा कुनै पार्टी कसैसँग एकताको कुरो भन्दा पनि चार वर्ष अगाडि नेकपा (एमाले) मा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थापना गरेर करिब चार वर्ष हामी अगाडि बढ्यौँ। र त्यही क्रममा तपाईँहरू सबैलाई थाहा छ, हाम्रो पार्टी एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) सहितको पार्टीसँग पार्टी एकता गर्ने निर्णय गर्यो। र अर्को, हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रियामा हुनुहुन्छ। हामी, हामी साथीहरू पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायत हामी साथीहरू कसैसँग समाहित या कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि ‘घर फर्कने अभियान’ गर्ने सिलसिलामा आज पत्रकार साथीहरूलाई हामीले यहाँ बोलाएका हौँ। हामी घर फर्कने क्रममा हामी नेकपा (एमाले) सँग वार्ता संवादमै छौँ र देशभरिका नेता तथा कार्यकर्ता साथीहरूलाई हामी आह्वान पनि गर्न चाहन्छौँ। फेरि यो पनि भ्रम नपरोस् कि कुनै पदको लागि या सशर्त हामी घर फर्कने कार्यक्रम पनि हाम्रो छैन। हामी निसर्त, हामी यदि ससम्मान, मैले दुई तीन दिन अगाडि पनि भनेको थिएँ, हामीलाई केही चाहिएको छैन आफ्नो मूल घरमा। हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए हामीलाई पुग्छ भन्ने मनसायले हामी उहाँहरूसँग वार्ता संवाद गर्छौँ। मेरो बानी पनि छैन कसैलाई गाली(गलौज गर्ने। हाम्रा पार्टीका अध्यक्ष माधव नेपाल सहित नेकपा (माओवादी केन्द्र) सँग एकता गर्दै हुनुहुन्छ, शुभकामना छ। र हाम्रा पार्टीका महासचिवले नयाँ पार्टी घोषणा गर्दै हुनुहुन्छ, उहाँलाई पनि शुभकामना छ। यो राष्ट्रिय राजनीतिमा फेरि एउटा पार्टी छोडेर अर्को पार्टीमा जाने या अन्त विचार नमिल्ने बित्तिकै गाली गर्ने चलन जुन छ, त्यो हामी चाहँदैनौँ। म अन्तिममा के अनुरोध गर्न चाहन्छु भन्दा, हामीले जानेर नजानेर चार वर्ष अगाडि नेकपा (एमाले) बाट विद्रोह गर्यौँ। त्यसलाई सबै भुलेर आफ्नो घर मै फर्कने वातावरण बनाउनको लागि पनि आदरणीय नेकपा एमालेका नेताहरूलाई अनुरोध गर्न चाहन्छु। हामी बिना सर्त आफ्नो घरमा फर्कन चाहन्छौँ। त्यो वातावरण बनाइदिनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु।















