कर्मचारीलाई चिनियाँ कम्पनीको ६५ लाख पर्ने सुनको किबोर्ड
चीनको एउटा प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई बोनसको रुपमा यस्तो उपहार दिएको छ कि जसको बारेमा कसैले सोचेको सम्म थिएनन् । आफ्ना सबै कर्मचारीलाई कम्पनीका हाकिमले सुनबाट बनेको कम्प्युटर किबोर्ड उपहार दिएका छन् । कर्मचारीलाई सुनको किबोर्ड बोनस दिने कम्पनीको चर्चा सोसल मिडियामा चुलिएको छ । कर्मचारीलाई सुनको किबोर्ड दिने कम्पनीको नाम इन्स्टा ३६० हो । यो कम्पनी दक्षिण गुआंगडोंग प्रान्तको शेनझेनमा रहेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई सुनको किबोर्ड बोनस दिनुको उद्देश्य कुनै महँगो उपहार दिनका लागि होइन । कर्मचारीहरूसँग आर्थिक स्थिरताका लागि केही मात्रामा सुनको स्वामित्व होस् भन्नका लागि हो । उक्त चिनियाँ प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई पछिल्लो चार वर्षयता नै लगातार बोनसका रूपमा सुनको कि क्याप दिँदै आएको थियो । जसका कारण कम्पनीको प्रशंसा हुँदै आएको छ । यसैक्रममा गत अक्टोबर २४ मा चीनमा प्रोग्रामर दिवस मनाउने क्रममा कम्पनीले आफ्ना केही उत्कृष्ट कर्मचारीलाई २१ वटा सुनका किबोर्ड उपहार दिएर सम्मानित गर्यो । समाचार अनुसार ती किबोर्डमध्ये सबैभन्दा ठूलो किबोर्डको वजन ३५.०२ ग्राम छ, जसको मूल्य करीब ३ लाख २० हजार युआन अर्थात् करीब ६५ लाख रुपैयाँ पर्दछ । इन्स्टा ३६० ले प्रोग्रामर दिवसको बोनसका रूपमा पछिल्ला वर्षहरूमा निरन्तर सुनको किबोर्ड दिने गरेको छ । हालसम्म यस्ता ५५ वटा किबोर्ड उसले कर्मचारीहरूलाई दिइसकेको छ । सुनको बढ्दो मूल्यका कारण ती किबोर्डको मूल्य अघिल्ला वर्षभन्दा दोब्बर बढिसकेको छ । स्मरण रहोस् इन्स्टा ३६० कम्पनी ३६० डिग्री क्यामेराको क्षेत्रमा एक प्रमुख ब्राण्ड हो । यसले गोप्रोलाई कडा टक्कर दिने गरेको छ । आफ्ना कर्मचारीहरूलाई सुनको बोनस दिने परम्पराका कारण चिनियाँ प्रविधि उद्योगमा यो कम्पनीलाई बोलीचालीको भाषामा गोल्ड फ्याक्ट्री भन्ने गरिएको छ । गत जुलाईमा आफ्नो १०औँ वर्षगाँठको अवसरमा कम्पनीले आफ्ना सबै कर्मचराी तथा प्रशिक्षार्थीहरूलाई सुनको एउटा ब्लाइन्ड बक्स उपहार दिएको थियो । त्यसमा विभिन्न डिजाइनमा सजिएका शुद्ध सुनका स्टिकर थिए । ती हरेकको तौल ०.३६ ग्राम थियो । र्क्मचारीले भर्खरै बिहे भएका तथा बच्चा जन्माएका कर्मचारीहरूलाई एक ग्राम तौल भएको सुनको सिक्का उपहार दिने गरेको छ । हालैको एक वर्षान्त पार्टीमा कम्पनीले ९९९ ग्रामसम्मको सुनको बार पुरस्कार दिएको थियो ।
















