एनपीएलमा आज दुई खेल हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । यसअघि गत सिजन तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो ।
कर्णालीले भने चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो । पहिलो संस्करणमा यी दुई टिमबीच भेट हुँदा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो ।
















