निर्माता संघको अध्यक्षमा सुब्बा, महासचिवमा लामिछाने निर्वाचित

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सुब्बा १५३ मत ल्याउँदै विजयी भएका हुन् । उनले अध्यक्षका अर्का उमेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाएका थिए । किरण नेपालीलाई पराजित गर्दै संघको महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । नेपालीले १२५ मत प्राप्त गरेका थिए । सचिवमा युवराज गिरी १५९ मत पाएर निर्वाचित भए ।

उनका प्रतिस्पर्धी किसान पोखरेलका पक्षमा ११२ मत खसेको थियो । अन्य केही पदाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् । नौ जनाको सदस्य पदका लागि सातजनाले मात्र आवेदन दिएकाले सबै सर्वसम्मत भएका छन् । सोमबार राजधानीमा भएको संघको १९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *