म्यानमारबाट भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई स्वदेश फकाईयो

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमार सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार (मंसिर ३( नेपाल एयरलाइन्सको उडान नं। आरए४०२ मार्फत नेपाल फर्काएको हो । आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन वेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा उनीहरूलाई लगाइएको थियो । गत कात्तिक २ गते स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा मारेपछि त्यहाँ कार्यरत ३७ नेपाली भागेर थाइल्यान्ड प्रवेश गरेका थिए ।

“थाइल्यान्ड प्रवेश गरेका ३७ नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी २०८२ मंसिर ३ गतेका दिन नेपाल एयरलाइन्सको उडान नं आरए ४०२ मार्फत नेपाल फर्काएको छ,” बैंककस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा रहेका दुईजना तथा कम्बोडियामा रहेका चारजना नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाइल्यान्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । “नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *