कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो ।

कार्यवाहक सभापति खड्काले गरेका प्रयासले सोमबारसम्म पनि कुनै काम नगरेपछि बैठक एकैपटक मंसिर ४ गते (आज)सम्मका लागि सारिएको थियो । अहिलेसम्म महाधिवेशनका सम्बन्धमा रहेको विवाद नमिलेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘अहिलेसम्म विवाद मिलेको छैन । पार्टीभित्रका दुवै पक्ष आ–आफ्नो अडानमा छौँ,’ प्रवक्ता महतले रातोपाटीसँग भने, ‘महामन्त्रीज्यूहरूले निर्वाचन अगाडि महाधिवेशन हुनुपर्छ भनिरहनुभएको छ । हामीले अहिले निर्वाचनको तयारीमा पार्टी लाग्नुपर्छ । निर्वाचनपछि महाधिवेशन गरौँला भनिरहेका छौँ । जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । महामन्त्री थापाको कार्यतालिकालाई इतर समूहले र सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गरेपछि कांग्रेसभित्र यो विषय पेचिलो बन्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *