युक्रेनमा रूसी आक्रमण, तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु
काठमाडौं । युक्रेनको पश्चिमी सहर टर्नोपिलका दुई अपार्टमेन्टमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । बुधबार बिहान भएको आक्रमणमा १८ बालबालिकासहित थप ९३ जना घाइते भएका छन् । फेब्रुअरी २०२२ मा मस्कोले आक्रमण सुरु गरेदेखि यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये यो पनि एक हो । युक्रेनको वायुसेनाले रूसी एक्स–१०१ क्रूज मिसाइलहरूले आवासीय अपार्टमेन्टहरूमा प्रहार गरेको बताएको छ । यसको नजिकैका ल्भिभ र इभानो–फ्रान्किभ्स्क क्षेत्रहरूमा पनि प्रहार गरिएको छ । उत्तरी–पूर्वी सहर खार्किभका तीन जिल्लाहरूमा गरिएको ड्रोन आक्रमणमा ३० भन्दा धेरै व्यक्तिहरूलाई घाइते भएका छन् ।
अनलाइनमा पोस्ट गरिएका तस्बीरहरूमा भवन र कारहरू आगोले जलिरहेका देखिन्छन् । युक्रेनको वायुसेनाले रूसले प्रक्षेपण गरेका ४७६ ड्रोनमध्ये ४०० बढीलाई र ४८ प्रक्षेपास्त्रमध्ये ४१ लाई नष्ट गरेको दाबी गरेको छ । पश्चिमी मित्र राष्ट्रहरूले उपलब्ध गराएका एफ–१६ र मिराज २००० लडाकु जहाजहरूले १० प्रक्षेपास्त्र नष्ट गरेका बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेयर गरेको एक भिडियोमा अपार्टमेन्टको एउटा ब्लक पूरै ढलेको देखिन्छ । आन्तरिक मन्त्री इहोर क्लिमेन्कोको भनाइमा तेस्रो र नवौँ तलाबीचको भाग पूर्णरूपमा नष्ट भएको छ । जेलेन्स्कीको भनाइमा आक्रमणले ठूलो विनाश गरेको र भग्नावशेषमा धेरै पीडितहरू फसेका छन् । बीबीसी
















