नेताले रोजेको होइन, जनताले खोजेको विकास आजको आवश्यकता
केशव महत, प्रमुख, लिखुतामाकोशी गाउँपालिका, रामेछाप
काठमाडौँ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका स्थापित नेता हुन् केशव महत । दूर्गम पहाडी जिल्ला रामेछापको बिजुलीकोटमा जन्मिएका उनी लिखुतामाकोशी गाउँपालिकाका प्रमुख हुन् । परिवर्तनको पक्षमा नेपाली कांग्रेसबाट हुने हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महत कर्तव्य निष्ठ नेता र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । राजनीतिसँगै समाज सेवामा सक्रिय महत नेताले रोजेको होइन जनताले खोजेको’ विकासमा जोड दिन्छन् । सधैं जनताका कामप्रति दत्तचित्त उनी आपूmलाई जनताको शासक होइन, सेवक भन्न रुचाउँछन् । उनै महतसँग स्थानीय तहको विकाससँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
आफ्नो अमूल्य मत दिएर विजयी गराउने मतदातालाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त मतदान केन्द्रमा लामबद्ध भएर परिवर्तनको पक्षमा नेपाली कांग्रेसलाई जिताउनका लागि मतदान गर्ने मतदातालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । आफ्नो जनप्रतिनिधि आपैmले चुन्ने जुन प्रजातान्त्रिक प्रक्रिया छ, त्यसमा उहाँहरुको निष्ठापूर्वक सहभागिता हुनु मुलुकको लागि अत्यन्त सकारात्मक पक्ष हो । मैले मतदाताको घरदैलोमा गइरहँदा नेपाली कांग्रेस र मलाई मत दिनुहोस् मात्र भनिन । आफ्नो लागि सक्षम जनप्रतिनिधि चयन गर्नुस् र उसलाई भोट हाल्नुहोस् भनेर अनुरोध गरेँ । त्यसमा नेपाली कांग्रेसका तमाम साथीहरु, गाउँकार्यसमितिका सभापतिहरु, वडा कार्यपालिकाका सभापति र सम्पूर्ण प्रतिनिधिहरु मसँगै सहभागी हुनुहुन्थ्यो । उहाँहरुले जसरी जनतासँग अनुरोध गरेर सक्रियतापूर्वक मत माग्नुभयो, त्यसको लागि उहाँहरुप्रति मेरो उच्च सम्मान छ । मैले गरेका प्रतिवद्धताहरु उहाँहरुकै सल्लाह, सुझाव र सहयोगमा यथासम्भब पुरा गर्ने बचनवद्धता गर्दछु ।
भोट माग्न जनताका घरदैलोमा पुगिरहँदा उहाँहरुबाट कस्तोखालको अपेक्षा पाउनुभयो ?
सर्वप्रथम त विगत पाँच वर्षमा लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु राजनीति खिचातानी र आन्तरिक विवादमा फसेर जनताका कुनै पनि काम भएनन् । त्यो क्रियाकलापबाट त्यतिबेला जनप्रतिनिधिहरुदेखि जनताहरु दिक्दार र निराश भएको पाएँ । र, उहाँहरुको त्यस्तो ठूलो इच्छा, आकांक्षा पनि देखिँन । खाली उहाँहरुमा अन्य ठाउँका गाउँपालिकामा जस्तै रामेछापको लिखुतामाकोशी गाउँपालिकामा पनि एउटा सिस्टम विकास होस् । त्यो सिस्टममा टेकेर बिना झन्झट सहज रुपमा जनतालाई सेवा प्रदान गरियोस् भन्ने मनसाय रहेको पाएँ ।
त्यसोभए पहिलाका जनप्रतिनिधिहरुबाट जनता पीडित भएको पाउनुभयो हो ?
हो । म मत लाग्ने सिलसिलामा गाउँ, टोल वस्ती घुम्दा ठ्याक्कै उहाँहरुको कुरै के रह्यो भने, ‘त्यसबेला हामीले हरेक पटक आफ्नो समस्या लिएर गाउँपालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्दा हाम्रो कुरा पुरै उपेक्षा गरेर उहाँहरुकै आन्तरिक झगडामा अझिल्ने, आफ्नै आन्तरिक समस्या हामीलाई सुनाउने, हाम्रा आवाजलाई उपेक्षा गर्ने गरियो जनताका पक्षमा कुनै काम भएनन् । अब आइन्दा जनप्रतिनिधिहरुबाट यस्ताखाले आन्तरिक खिचातानी, राजनीतिक आग्रहपूर्वाग्रहमा एकअर्कामा दोषारोपण गर्ने काम नहोस् । हाम्रा जल्दाबल्दा समस्या बिना झन्झट परिपूर्ति होस् भन्ने गुनासो मात्रै पाएँ । तपाईंंहरुको पालामा पहिलाको जस्तो लथालिङ्ग नहोस् । एउटा सिस्टममा गाउँपालिकाको काम होस् । गाउँपालिकाबाट पाउनुपर्ने सेवा, सुविधा सहज रुपमा पाउँ भन्ने मात्रै उहाँहरुको माग रहेको मैले पाएँ ।
चुनावका बेला कुनै पार्टीको प्रतिनिधि भएपनि निर्वाचित भइसकेपछि आमनागरिकको काम साझा रुपमा हुनुपर्छ भन्ने जनभावना पाउनुभयो हो ?
हो । अहिलेको जनमत पनि लिखुतामाकोशी गाउँपालिकाकामा त्यहीँ खालको देखियो । जनप्रतिनिधि भइसकेपछि तपाईंहरु जनताको सेवामा साझा रुपले लाग्नुस् है भनेजस्तै जनमत आएको छ । यसपालिको जनमतले जनप्रतिनिधि भनेको सबैको साझा हुनुपर्छ भन्ने खालकै छ । चुनावका बेला पार्टीको प्रतिनिधि भएपनि चुनाव जितिसकेपछि पार्टीभन्दा माथि उठेर सम्पूर्ण गाउँपालिकावासीको काम हुनुपर्छ भन्ने उहाँहरुको भावना पाइयो । त्यसको लागि कठिबद्ध छु ।
जनतामा चेतना पलाएर कांग्रेसलाई चुनाव जित्न सहज भएको हो ?
यसअघि बीस वर्षपछि चुनाव भएकाले मतदाताहरुलाई स्थानीय निर्वाचनको महत्वबारे त्यति ठूलो ज्ञान भएन । र, यो पाँच वर्षयता उहाँहरुले पाउनुपर्ने सेवा, सुविधा, हकअधिकार लगायतमा राम्रो बुझिसकेका छन् । फेरि अहिलेका आमसञ्चार, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, फेसबुक, युटूबलगायत सामाजिक सञ्जालबाट देशभर भएका क्रियाकलापहरु देख्ने, सुन्ने मौका पाउनुभयो । त्यसले गर्दा मतदातामाझ हामी सहजै जान सक्यौं । मतदाता सामु कुनै पार्टीलाई गालीगलौज नगरिकन आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यक्रम लिएर जाँदा कुन पार्टी र नेतालाई भोट हाल्दा आफ्नो पालिकामा सही प्रतिनिधि चुनिन्छन् भन्ने चेतना भएको पाएँ । त्यो चेतनास्तरका जनता भएकाले नेपाली कांग्रेस जस्तो स्पष्ट नीति, कार्यक्रम र सिद्धान्त बोकेको पार्टीलाई चुनाव जित्न सहज भएको मैले पाएको छु । यसले अबका जनता झुठा आश्वास र खोक्रा नाराका आधारमा जभाभावी भोट हाल्दैनन् भन्ने गतिलो आधार तय भएको छ । त्यो लोकतान्त्रिक, विधि, पद्दति र सिद्धान्तका लागि सुखद पक्ष हो ।
ग्रामीण जनतामा चेतनास्तर ह्वात्तै बढेको हो ?
अहिलेको निर्वाचनबाट जनतामा चेतनास्तर ह्वात्तै बढेको पाइयो । यसपालिको स्थानीय तह निर्वाचनमा जनताले एकदमै अत्यन्तै सुझबुझका साथ चलाखीपूर्वक मतदान गरेको पाइयो । उहाँहरुमा त्यस्तो धेरै इच्छा, आकांक्षा भएको पनि पाइएन । उहाँहरुमा पार्टीभित्र पनि कुन व्यक्तिलाई मतदान गरियो भने सहज रुपमा नागरिकले सेवा सुविधा पाउँछन् । कुन मान्छे जनप्रतिनिधि हुँदा न्यायोचित ढंगले सबैलाई सेवा सुविधा दिन सक्छ भन्ने कुराको राम्रो ज्ञान भएको मैले पाएँ ।
लिखुतामाकोशी गाउँपालिकामा खड्किएको आवश्यक के देख्नुभएको छ ?
यस गाउँपालिकामा भूगोल कस्तो छ भने तल्लो भेगमा खिम्तिबेशीदेखि माथिल्लो भेगमा तामेडाँडासम्म पैmलिएको छ । त्यसमा दुरागाउँ अत्यन्तै जटिल छ । त्यो ठाउँलाई विशेष रुपले हेर्नुपर्ने देखिन्छ । अब हामीले विकास निर्माणका योजना बनाउँदा जनतासँगै बसेर उनीहरुको सल्लाह, सुझाव तर्जुमा गर्नुपर्छ । अब हामीले दिने विकास होइन, ठाउँ र भूलोगल अनुसार त्यहाँका जनताले खोजेको विकास निर्माणलाई प्राथमिकीकरण गर्नुपर्छ । ंहामी त्यसमा प्रतिबद्ध छौं । पहिलाका विकासमा नेता जाने आफ्नो ढंगले भाषण गर्ने, तपाईंहरुलाई स्कूल दिन्छौं, खानेपानी दिन्छौं, सडक बनाइदिन्छौं भन्ने परम्परागतको जुन शैली छ । त्यो शैलीलाई ठ्याक्कै परिवर्तन गर्नुपर्छ । पहिला नेताले पानी भएको ठाउँमा पनि पानी ल्याइदिन्छु भनेर भाषण गर्दा पनि तालि बजाउँथे, अब त्यस्तो अवस्था रहेन । माथिल्लो भेगमा आलु त्यसै नष्ट भएको छ । बेशीका मान्छेहरुले त्यही आलुको तरकारी खान पाएका छैनन् । त्यसको बजार व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि त्यहाँका जनतासँग बसेर छलफल गरेर उनीहरुको आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्छ । त्यसलाई पहिलो विषय बनाउने । त्यसको लागि हाम्रा पार्टीका साथीहरुसँग पनि बसेर छलफल गर्छु । सँगै सम्बन्धित वडा, गाउँ, टोलका जनतासँग छलफल गरेर उनीहरुको आवश्यकता अनुसार काम गर्ने छु । अब नेता रोजेको होइन, जनताले खोजेको विकासलाई फोकस गरेर अगाडि बढ्नुपर्छ । अनि मात्रै लक्षित भूलोग, क्षेत्र, वर्ग, समुदायको पहुँचमा विकास पुग्छ ।
अब तपाईं विकास निर्माणका योजना बनाउँदा जनतालाई सोधेर बनाउनुहुन्छ हो ?
हो, अब विकास निर्माणका योजना बनाउँदा गाउँपालिकामा बसेर होइन, प्रत्येक वडा, गाउँ, टोलमा पुगेर बनाउनुपर्छ । र, त्यो वडाका नागरिकसमाज, बुद्धिजीवी, शिक्षक, कृषक, विद्यार्थी, महिला, जनजाति, दलित, अल्पसंख्यक, उत्पीडित वर्ग, समुदायसँग राय सल्लाह लिएर समृद्ध वडा बनाउने गरी योजना तर्जुमा गर्छु । त्यसो गर्दा कसरी शिक्षा, स्वास्थ्यको स्तरोन्नति गर्न सकिन्छ । कसरी कृषकहरुको स्तरोन्नति गर्न सकिन्छ । खानेपानी तथा सिंचाईंको लागि के गर्नुपर्छ भन्ने कुरा खुट्याएर विकास निर्माणमा अगाडि बढ्ने छु । त्यसको लागि के के गर्दा तपाईंहरुलाई सहज हुन्छ ? आत्मानिर्भर वडापालिका कसरी बनाउन सकिन्छ ? तपाईंहरुको आवश्यकता के के हुन् भनेर लक्षित समुदायको रायसुझावमा अगाडि बढ्ने छु । एकैचोटी आमूल परिवर्तन त नहोला तापनि केही न केही परिवर्तन त हुन्छ भन्ने मेरो धारणा छ ।
विदेसिने युवाहरुलाई गाउँमै रोक्नको लागि के गर्नुपर्ला जस्तो लाग्छ ?
पहिलो अहिलेको आवश्यकता अनुसार आयआर्जनको स्रोत दिन नसकेर पनि युवाहरु विदेसिने क्रम बढेको छ । अर्को आफ्नो आवश्यकता र क्षमताभन्दा अर्काको देखेर त्यस्तै हुनुपर्छ भन्ने महत्वकांक्षाले पनि अलिकति काम गरेको छ । अहिलेका पुस्तामा देखासेखी गर्ने होडवाजी चलेको छ । ग्रामीण जनतामा चेतनास्तरसँगै महत्वकांक्षा पनि ह्वात्तै बढेको छ । नेपालमा युवा वर्गलाई आकर्षित गर्ने योजना सरकारले दिन सकेन अनि उनीहरुले त्यो आवश्यकता परिपूर्तिको लागि विदेश ताक्न थाले । फेरि आफ्नो आवश्यकता परिपूर्तिको लागि विदेश जानै हुँदैन भन्ने पनि होइन । तर, आफ्नो योग्यता, क्षमताले वैदेशिक रोजगारीमा कामउने र स्वदेशमै कमाउने आयआम्दानीको तुलना गर्न जरुरी छ । यदि गाउँमै बसेर पनि विदेशको जति कमाउन सकियो भने गाउँमै पनि केही गर्न सकिन्छ भन्ने भावना जागृत हुन्छ ।
युवाहरु विरत्तिनुमा राजनीतिक नेतृत्व कत्तिको जिम्मेवार छ ?
यसमा जनप्रतिनिधिहरुले खाली विकास गर्ने विकास गर्ने चाहीं भने तर जनताले खोजेको विकास के हो त्यसको पहिचान गरेनन् । त्यसकारण विकास भनेको के भन्ने कुरा पहिला जनप्रतिनिधिहरुले बुझ्न जरुरी छ । विकासको भनेको के हो हाम्रो भौगोलिक परिस्थिति कस्तो छ । जनताका आवश्यकता के छन् भन्ने कुरा जनप्रतिनिधिहरुले पहिला बुझ्नुपर्छ । आपूmले पहिला बुझेपछि मात्रै विकासको खाका तयार गर्न सकिन्छ । पहिलो कुरा गाउँमा विकास निर्माणका कुरा उठिरहँदा ब्यापक रुपमा राजनीतिक प्रतिस्पर्धा भयो । त्यसमा हामी सम्पूर्ण समाज कांग्रेस, एमाले र माओवादी मात्रै भयौं । हामी समाजिक प्राणी भएनौं । हाम्रो सहभागिता सामाजिक रहेन, राजनीतिक प्राणीका रुपमा मात्रै भयो । त्यसकारण अब सबै राजनीतिक दलहरुले वास्तवमै विकास भनेको के हो भनेर खुट्याउन जरुरी छ । त्यसका लागि दलहरु राजनीतिभन्दा माथि उठेर जनताको आवश्यकतामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
यो चुनावमा जनताले दलहरुलाई त्योखालको झस्का दिएका हुन् ?
हो, यो चुनावमा जनताले दलहरुलाई त्यस्तो झस्का दिएका छन् । अब परम्परागत रुपमा सधैंभरि बाटो मात्रै खनिराख्ने, खानेपानीको धारा मात्रै बनाइरहने, सधैं स्कूल मात्रै खोलिराख्ने, एउटा किराना पसल र पोल्ट्र्ी फर्मको मात्रै कुरा गर्ने, उत्पादनमुलक विषयमा ध्यान नदिने हो भने जनताले चाहेको विकास हुँदैन । त्योखाले परम्परागत शैलीले परनिर्भरता बढेर जान्छ । स्थानीय तहमा जनताका न्यूनतम आवश्यकतामा ध्यान दिन जरुरी छ । त्यसको लागि दैनिक भान्सामा जोडिने कुरा हुन्छन् । त्यसको लागि कम्तिमा आफ्नो खेतबारी बाँझो राखेर पसलतिर तरकारी किन्न लाग्नुभएन । ठाउँअनुसार खेतीपातीमा जोड दिनुपर्छ । सकेसम्म बेचबिखन गरेर आयआर्जन गर्न सकियोस् नभएपनि आपूmलाई खान पुग्ने उत्पादनमा जोड दिनुपर्छ । त्यसले मात्रै खाद्यमा परनिर्भरता घटाउन सकिन्छ ।