२८औं जनयुद्ध दिवस : माओवादी आधार इलाका कर्णालीमा के हुँदै छ ?
सुर्खेत । २८औँ जनयुद्ध दिवस मनाइरहँदा अहिले माओवादी आन्दोलन कहाँ पुग्यो होला ? अर्थात् माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरू अहिले कति ज्युँदा छन् कति चुपचाप रहेका छन् । हरेक दिवस मनाउँदा यी विषय समीक्षाका बन्ने गर्दछन् ।
‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’
कवि भूपि शेरचनले भनेझैँ जनयुद्धमा मृत्युवरण गरेकाहरूले जनयुद्धलाई एक स्वर्णिम युगका रुपमा लिए । माओवादीका तत्कालीन प्रमुख कमाण्डर अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले माओवादीले सशस्त्र युद्ध थालेको दिन १ फागुन अर्थात आज सार्वजनिक बिदा नै दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे । यो निर्णयसँगै कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसको बिदा दिएर विविध कार्यक्रम गर्न लागिरहेको छ ।
‘२८औँ जनयुद्ध दिवस भव्यताका साथ मनाऔँ, समाजवाद उन्मुख संमृद्धको बाटोमा अघि बढौँ’ भन्ने नाराका साथ यो दिव मनाइँदैछ । फागुन २ देखि ७ सम्म जनयुद्धको उपलब्ीिका विषयमा विद्यालयस्तर तथा यूवाहरूको बीचमा बिभिन्न कार्यक्रम समेत हुने बताएको छ ।
१४ देखि २१ फागुन सम्मा सहिद परिवारसँग भेटघाटदेखि अन्य विभिन्न कार्यक्रमसमेत राखिएको छ । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेर ९० प्रतिशत भुभाग कब्जा लिएर तत्कालीन सरकारलाई १० प्रतिशत भूभागमा सीमित गरेको दाबी गरेको थियो । तर, अहिले शान्ति प्रक्रियामा आएसँँगै माओवादी खुम्चिँदै गएको निर्वाचनको परिणामले देखाएको छ ।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।
नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ ।
जाजरकोटमा नलगाड नदीमा मानहादुर रावल र मानबहादुर ओलीलाई पनि सोही दिन तत्कालीन सरकारले मारे पनि सूचनाको अभावमा पहिलो सहिद हुनबाट पछि परेको माओवादी वृत्तमा चर्चा छ । त्यस्तै फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरूको सामूहिक हत्या गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरूबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।
यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको घोषणा गरेको थियो । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो ।
माओवादीले आफूहरूसँग ३२ हजार सेना रहेको दाबी गरेको थियो । यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण ग¥यो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए । प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए । १ हजार ४२१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए । सेनामा रहेर काम गर्नेमा कणालीकै बढी रहेका थिए ।
अहिले फेरि माओवादी सरकारको नेतृत्वमा छ । माओवादीले उठाएका एजेण्डा र अंगीकार गरेका कामहरू प्रति माओवादीबाट अलग्एिका केही अन्य माओवादीहरू औँला उठाइरहेका छन् । सरकारदेखि सडकसम्म विभिन्न नाम दिइएको माओवादीहरू नै रहेका छन् । आधार इलाका भुल्दै गएको आरोपसमेत माओवादीलाई लाग्दै आएको छ ।
जाजरकोट, रुकुम, रोल्पालगायत कर्णालीका अधिकांश ठाउँमा आज माओवादीले ठूला ठूला कार्यक्रम राखेको छ, केन्द्रीयस्तरका नेता बेगर । चुनाव जितेर काठमाडौँ गएदेखि केन्द्रीय नेता आधार इलाका फर्केका छैनन् । सुर्खेतको पार्टी कार्यालय, जाजरकोटको रिम्ना, दल्ली र जुनी बस्तीमा कार्यक्रम हुँदै छन् ।
रुकुममा समेत बिभिन्न पालिकामा कार्यक्रम भइरहेका छन् । संघीय सरकारले नै जनयुद्ध दिवसको विदा दिएपछि स्थानीय तहले समेत आफूखुसी बिदा दिएर जनयुद्ध दिवस मनाइरहेका छन् । तर माओवादीले नजितेको ठाउँमा जनयुद्ध दिवसको कुनै रौनकता नहुने देखिएको छ ।
कर्णालीमा २०७४ सालमा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ । उक्त दलले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो । २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ । उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २०उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडासदस्य गरी कूल एक हजार १२३ उम्मेदवार निर्वाचित भएका छन् । तीन दिन अघि सकुलर गरेर कार्यक्रम गर्न निर्देशन दिएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।