यस्तो छ राष्ट्रपति निर्वाचनको इतिहास हेर्नुहोस्
काठमाडौं । मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो ।
संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।
पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे ।
प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।
उक्त निर्वाचनमा संघीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा संघीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत) ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।
संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।
कति मत पाउँदा बहुमत पुग्छ ?
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा ८ सय ८१ मतदाता छन् । राष्टियसभाका ५९ र प्रतिनिधिसभाका ३ सय ३१ सांसदहरुले मतदान गर्दैछन् भने प्रदेशसभाका ५ सय ५० जना मतदाता छन् ।
प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये एक रिक्त, एक निलम्वित र एकजनाको मृत्यु भएका कारण तीन सदस्य खाली छन् । चितवन २ का सांसद रवि लामिछाने पदमुक्त भएका छन् भने मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्वित छन् । जसपा सांसद रहनाज रहनाजको मतदाता सूचीमा नाम रहे पनि मृत्यु भएको छ ।
एकजना संघीय सांसदको मतभार ७९ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति निर्वाचनको जम्मा मतभार ५२ हजार ६ सय २८ हो । बहुमतका लागि २६ हजार ३ सय १५ कटाउनुपर्नेछ ।
संघीय संसदका ३ सय ३२ सांसदको जम्मा मतभार २६ हजार २ सय २८ भने प्रदेशसभा सदस्य ५ सय ५० को जम्मा मतभार २६ हजार ४ सय रहेको छ ।
राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने छ । कुनै पनि उमेदेवारले ५० प्रतिशत नकटाएको खण्डमा पुनः मतदान हुनेछ । पुनः मतदानमा ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । दोस्रो पटकमा पनि ५० प्रतिशत नकटाए तेस्रो पटकको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।