अर्थमन्त्री महतले आर्थिक अवस्था उकास्न चाल्नुपर्ने कदम
काठमाडौँ । केही वर्षअघिदेखि अरुलाई ठगेर कमाएका सेयर, घरजग्गा दलालीहरू अहिले ऋण तिर्न नसकेर भागेर हिँडेका छन् । सेयर दलालीहरूले बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३२ सय कित्तामा बेचेर सर्वसाधारणलाई ठगे । जग्गा दलालहरूले आनाको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आनाकै ७० लाखमा बेचे ।
यसरी सर्वसाधारणलाई ठगेर रातारात करोडपति बनेका दलालहरू आज बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर विष खाएर वा पासो लगाएर आत्महत्या गरेको समाचार आउन थालेको छ । ३२ सय रुपैयाँमा बेचिएका सेयर पनि पहिलेकै भाउमा र ७० लाख आनामा बेचेको जग्गा पनि पहिलेकै रेटमा आउने भएको छ । दलालहरूले ऋण तिर्न नसकेपछि भागेकाले बैंक तथा वित्तीय संस्थाहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बचतकर्ताको रकम सबै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । तर, यो क्षेत्रमै पूरै मन्दी आएपछि अब बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालक असहज अवस्थामा पुगेका हुन् ।
बजारमा अहिले नयाँ गाडी किन्ने मान्छे छैनन् । २० लाख मूल्यमा किनेको गाडी अहिले रकमको खाँचो परेर एक लाखमा बेच्छु भन्दा पनि बिक्दैन । यातायात र मालपोत कार्यालयमा सुनसान छाएको छ । राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ ।
अहिले घरजग्गा, गाडी र सेयर दलालीको भागाभाग चल्दा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारी मख्ख परेका छन् । तर, अब दलालको नै यसरी भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य कसरी बढ्छ ? बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले यी क्षेत्रमा कर्जा मात्र लगानी गर्ने हो । यसको मूल्य बढाउने काम त दलालको हो । हो, यसरी दलालहरूको भागाभाग चलेपछि घरजग्गा, गाडी र सेयरको मूल्य घटेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्षदेखि कर्मचारीसम्मको भागाभाग चल्ने निश्चित छ ।
अहिले अधिकांश सहकारी डुब्ने अवस्थामा पुगेका छन् । सहकारीहरू कार्यालयको भाडा तिर्न नसकेर धमाधम भागिरहेका छन् । बैंक पनि कर्मचारीलाई तलब दिन नसकेर आफ्नो शाखा कार्यालय घटाउँदैछ । बैंक डुब्ने अवस्थामा पुगेपछि सेयर होल्डरहरूले सेयर बेच्छुभन्दा पनि किन्ने कोही छैन ।
तीन वर्षअगाडि ठाउँ हेरेर आनाको २० देखि ९० लाखमा किनेको जग्गा अहिले तीन भागको एक भागमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । हिजो नाफा खान्छु भनेर यिनीहरूले यसरी जग्गा किनेका हुन् । तर, अहिले नाफाको त कुरै छोडौँ साँवा नै डुबेको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकहरूले घुस खाएर कर्जा प्रवाह गरेकाले यस्तो अवस्था आएको हो । एक करोड कर्जा दिँदा १० लाख रुपैयाँ घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशत ब्याजमा दलालहरूले सर्वसाधारणलाई जग्गा भिडाए । ७० लाख लिएको ऋण तिर्न नसकेर अहिले ८० लाख पुग्यो, तर ९० लाखमा किनेको जग्गा पहिलाको आधा मूल्यमा आयो ।
ऋणीहरूले अब हामी ऋण तिर्न सक्दैँनौँ बरु घरजग्गा, गाडी र सेयर नै लिलाम गर्नुस् भनेर भनिसकेका छन् । तर, बजारमा अहिले घरजग्गा किन्ने कोही छैन । बेच्ने धेरै छन् । बैंक तथा वित्तीय संस्थालाई हिजो सर्वसाधारण जनता वा सरकारले यी क्षेत्रमा लगानी गर्नु भनेर भनेका थिएनन् । घुसको लोभमा नाफा कमाउने लोभमा बैंक तथा वित्तीय संस्थाले भटाभट आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।
अहिले बजारमा पैसाको हाहाकार छ । बैंक तथा वित्तीय संस्था डुब्ने कुरा थाहा पाएपछि बचतकर्ताहरूले सबै पैसा निकालेर आफ्नो घरमा राखेका छन् । एक वर्षअघिसम्म एकदेखि डेढ लाखको व्यापार गर्ने व्यापारीहरू अहिले कुनै दिन चार÷पाँच हजारको व्यापार हुने त कुनै दिन हुँदै नहुनेसमेत बताउँछन् । बजारमा पाँच र हजारको नोट हाहाकार भइसकेको छ । त्यसैले चाँडै अर्थमन्त्री प्रकाशशरण महतले नयाँ कदम चाल्नुपर्ने अवस्था आएको छ । ज्येष्ठ नागरिकको भत्ता, सरकारी कर्मचारीको तलबभत्ता र पेन्सन कटौतीको निर्णय गर्न ढिला भइसकेको छ ।