मिटरब्याजीपीडितसँग वार्ता गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा समिति बनायो


काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजीपीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो हप्ता सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोले उनीहरुको मागलाई समेत समेट्ने गरी वार्ता समिति बनेको छ । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्यसचिव छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएको र समितिले तत्काल आवश्यक पहल थाल्ने मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *