साखः ग्रुपले १५ करोड लगानीमा कम्पोस्ट मल उत्पादन गर्दै


काठमाण्डौं । व्यवसायमा प्रख्यात साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिशी कम्पोस्ट मल साखः ग्रुपले रिकिशी दाईचि कम्पोस्ट फर्टिलाइजर एण्ड एग्रो प्रालि कम्पनीमार्फत् नेपालमै फोहोरबाट मल उत्पादन गरेको छ । साखः ग्रुपका निर्देशक किरणप्रकाश साखले १५ करोड लगानीमा नेपालमै कम्पोस्ट मलको उत्पादन सुरु गरेको बताए । उनका अनुसार मल उत्पादनका लागि कुनै पनि मेसिनरी आवश्यक नरहेको र निकै सहज तरिकाले उत्पादन हुने भएकाले नेपाललाई सुहाउने उपयुक्त मल उत्पादन सुरु गरिएको हो। नेपालमा अहिले अधिकांश खाद्यान्न तथा तरकारी उत्पादनका लागि रासायनिक मलको प्रयोग हुँदै आएको छ । उक्त रासायनिक मलको कारणले माटोमो उर्वराशक्ति ह्रास आएको छ । त्यसैले, कम्पनीले माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थ्यमा पनि सुधार गर्न कम्पोस्ट मल उपयुक्त विकल्पको रुपमा रहेको उनको भनाइ छ । कम्पनीले अहिले दुधौली नगरपालिकाबाट उत्पादन सुरु गरेको जनाएको छ । साखका अनुसार मल उत्पादनका लागि आवश्यक फोहोर संकलन गरेर अहिले ५८ वटा कोठाबाट उत्पादन सुरु गरिएको छ । उक्त ५८ वटा कोठाबाट दुई महिनामा ५ सय टन मल उत्पादन हुनेछ । मल उत्पादनका लागि देशभरका स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । ‘मलखाद बनाउन स्थानीय सरकारहरुसँगको सहकार्यमा फालिएका कुहिने फोहोरसमेतको प्रयोग गरिने भएकाले फोहोर व्यवस्थापनमा ठूलो भूमिका खेल्नेछ,’ उनले भने । कम्पनीले अहिले भक्तपुर नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पादन गरिरहेको छ । उक्त मल किसानहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुको आधारमा बिक्री वितरण गर्दै आएको छ । आगामी दिनमा माग बढ्दै गएको अवस्थामा कम्पनीले देशभर नै सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएको छ । कम्पनीले काठमाडौं महानगरपालिसँग सहकार्य गरेर फोहोरबाट मल उत्पादनको कार्य अगाडि बढाएको छ । परीक्षणका लागि काठमाडौं महागरपालिकाले मल उत्पादन सुरु गरेको छ भने अब एक महिनामा मल उत्पादन हुने उनले जानकारी दिए । ‘कम्पनीले उत्पादन गरेको मल विशेषगरी देशभर रहेका कृषि ज्ञान केन्द्रमार्फत् बिक्री वितरण गर्दै आएको छ,’ उनले भने, ‘आगामी दिनमा बजारमा माग बढ्दै गएमा देशभर नै कम्पोस्ट मल बनाउनका लागि सेवा प्रदान गर्नेछौं । कम्पनीले अहिले पहिलो चरणमा ५ सय टन कम्पोस्ट मल उत्पादन गर्दै आएको छ । तर, बजारमा माग बढेको अवस्थामा उक्त उत्पादनलाई बढाएर एक हजार टन उत्पादन गर्ने योजना बनाएको उनको भनाइ छ । कम्पनीले छिट्टै कम्पोस्ट मल उत्पादनका लागि १५० वटा कोठा थप गर्ने भएको छ । जापानमा निकै प्रख्यात कम्पोस्ट मल वैज्ञानिक ढङ्गबाट पनि उत्पादनका लागि उपयुक्त रहेकाले रासायनिक मलबाट प्राप्त हुने उतपादन सरह नै उत्पादन हुने कम्पनीको दाबी छ । उक्त मलको प्रयोगबाट उत्पादन भएका वस्तु खानाका लागि उपयुक्त हुने र कृषि क्षेत्रमा उल्लेख सुधार गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन सुरु गरेको उक्त मल किसानले रासायनिक मलको तुलनामा निकै सस्तो मूल्यमा खरिद गर्न सक्ने उनले दाबी गरे । सरकारले वार्षिक अर्बौं रुपैयाँ खर्चेर रासायनिक मल आयात गरिरहेको छ । तर, पनि किसानले पर्याप्त मात्रामा पाउन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेका कारण सरकारले यसअघि अनुदान दिन नसक्ने घोषणा गरेको थियो । तर, बिरोधपश्चात उक्त घोषणा फिर्ता लिई अनुदान दिने निर्णय यथावत राखेको थियो । सरकारले रासायनिक मल खरिदका लागि विदेशी मुद्रा खर्चिँदै आएको छ । साखले उत्पादन गरेको मल रासायनिक मलभन्दा सस्तो र माटोको लागि उपयुक्त रहेको उनको भनाइ छ । कम्पनीले अहिले कृषि ज्ञान केन्द्रहरुलाई प्रतिकेजी २५ रुपैयाँमा उक्त मल बिक्री गर्दै आएको छ । सरकारले यदि कम्पनीसँग सहकार्य गरेमा नेपालका लागि आवश्यक मल फोहोरबाट उत्पादन गर्न सक्ने क्षमता रहेको साखको भनाइ छ । ‘सरकारले अहिले जुन तरिकाले किसानलाई मलमा अनुदान दिइएको छ । उक्त अनुदानको केही हिस्सा मात्रै कम्पोस्ट मलमा लगानी गर्ने हो भने कम्पनीले निःशुल्क कम्पोस्ट मल वितरण गर्नेछ । कम्पनीले जमिन र खाद्यान्न उत्पादनको आधारमा सोहीअनुसारको मल प्रयोग गर्न सेवाहरु दिने उनले बताए । साथै, मलको प्रयोग बढ्दै गएमा रासायनिक मललाई विस्थापन गर्न सक्ने कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *