भारतमा २९ महीनाकै न्यून स्तरमा ओर्लियो थोक महँगी

काठमाडौं । भारत मा थोक महँगी घटेको छ । मार्चमा त्यहाँ थोक मूल्य सूचकमा आधारित मुद्रास्फीति (WPI) १ दशमलव ३४ प्रतिशतमा आएको छ । फेब्रुअरीमा भने यो सूचक ३ दशमलव ८५ प्रतिशतमा थियो । डब्ल्यूपीआई सूचकांक यो स्तरमा आएको यो सन् २०२० यता (२९ महीना)कै पहिलो पटक हो ।

त्यति बेला सूचक १ दशमलव ३१ प्रतिशत थियो । अघिल्लो महीना भने उच्च बेस इफेक्टका कारण सूचक उच्च देखिएको थियो । सन् २०२२ को मार्चमा कारखाना गेटको मुद्रास्फीति (Inflation) १४ दशमलव ६३ प्रतिशत थियो । भारतमा १८ महीनासम्म थोक महँगी दोहोरो अंकमा थियो । तर, लगातार ६ महीनादेखि यो एकल अंकमा रहँदै आएको छ । सन् २०२० अक्टोबर मा सूचक १ दशमलव ३१ प्रतिशतमा थियो ।

वाणिज्य तथा उद्योग मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार केमिकल, फर्मास्युटिकल र सिमेन्टजस्ता सामानको मूल्य घट्दा उत्पादित वस्तुको मूल्य वृद्धि माइनस शून्य दशमलव ७७ प्रतिशतले खुम्चिएको छ । अघिल्लो महीना यो १ दशमलव ९४ प्रतिशतले बढेको थियो । उत्पादित खाद्य वस्तुको भाउमा माइनस २ दशमलव ९६ प्रतिशतको कमी देखिएको छ ।

कागज र काठको भाउ (price) पनि क्रमशः १ दशमलव शून्य १ प्रतिशत र शून्य दशमलव ८३ प्रतिशतले खुम्चिएको थियो । मूल्य संकुचनको प्रवृत्ति टेक्सटाइल र फ्याट्समा पनि थियो । टेक्सटाइल र धातुको भाउमा आएको आएको तीव्र कमीले गर्दा झन्डै तीन वर्षमा पहिलो पटक उत्पादित वस्तुमा अपस्फीति देखिएको छ ।

तर, उत्पादित खाद्य वस्तु बाहेकको खाद्य मुद्रास्फीति फेब्रुअरीको ३ दशमलव ८१ प्रतिशतबाट बढेर मार्चमा ५ दशमलव ४८ प्रतिशतमा पुगेको छ । गेडागुडीको भाउमा आएको कमीका कारण यस्तो भएको बताइएको छ । समीक्षा अवधिमा अन्न, धान, गहुँ, दूध र फलफूलको भाउ भने सुस्ताएको छ ।

मार्चमा खुद्रा महँगी घटेको तथ्यांक आएलगत्तै थोक महँगी पनि सुस्त भएको तथ्यांक आएको छ । सन् २०२३ मा पहिलो पटक भारतमा थोक महँगी केन्द्रीय बैंकले तोकेको सहन सक्ने सबैभन्दा माथिल्लो स्तरबाट तल झरेको छ । ६ प्रतिशत थोक महँगीलाई रिजर्भ बैंक अफ इन्डिया (RBI) ले सहन सक्ने माथिल्लो तह भनेको छ ।

अप्रिलको नीतिगत बैठकमा आरबीआईको मौद्रिक नीति समितिले सर्वसम्मतरूपमा ब्याजदर साढे ६ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको थियो । तर, ब्याजदरको चक्र उच्चतम् स्तरमा पुगिसकेको छ भन्ने समितिका सदस्यहरूले स्वीकार गर्न मानेका थिएनन् । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *