काठमाडौँ जिल्ला प्रशासनः सेवाग्राही र कर्मचारी दुवैको दुःख
काठमाडौं । नेपालको राजधानीमा रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूले सामान्य सुविधा नपाउँदा तथा अव्यवस्थित सेवा प्रणालीबाट निराश बन्ने गरेका छन् भने सेवाग्राहीको अत्यधिक चाप तथा कमजोर प्रविधिका कारण कर्मचारीले पनि दुःख पाइरहेका छन्।
काठमाडौँ महानगरपालिकामा अन्यत्र जिल्लाबाट बसाइँसराई गरी आउने तथा व्यवसाय गर्ने सिलसिलामा काठमाडौँ उपत्यका भित्रनेको संख्या पनि धेरै छ ।
काठमाडौँ जिल्लाको बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालयमा दैनिक सेवा प्राप्तिका लागी तीन सयदेखि चार सय सम्मको सङ्ख्यामा सेवाग्राही आउने गर्दछन् ।
राजस्व तिर्न, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, पञ्जिकरण, इ–पासपोर्ट, मुद्दा शाखा लगायतको विभिन्न सेवा लिनको लागि यस कार्यालयमा सेवाग्राही आउने गरेका छन् ।
सेवा प्राप्तिको सिलसिलामा घण्टौँसम्म लाइनमा उभिएर बस्नु पर्दा वृद्धमैत्री सेवाको कुनै अनुभूति गर्न नपाएको ६८ वर्षीय एक वृद्धको गुनासो थियो । वृद्धवृद्धाको लागि सेवा लिने छुट्टै व्यवस्था नहुँदा घुँडा दुखेर खुट्टा थरथरी काँपिरहेको उहाँले बताउनुभयो ।
अव्यवस्थित रुपमा राखिएको लाइनका कारण धकेलधुकुल हुने हुँदा बालबालिका बोकेर लाइनमा बस्नुपर्दा लड्ने जोखिम भएको एक ३८ वर्षीय महिलाले पीडा पोख्नुभयो ।
कुनै पनि स्वास्थ्य परीक्षणको सामाग्री, सेनिटाइजर, पन्जा, मास्क, मापदण्ड अनुसारको दुरी कायम नगरेको हुँदा कोरोना सङ्क्रमणको जोखिम हुने हुँदा डरैडरमा सेवा बाध्य भएको एक २२ वर्षीय युवकले बताउनुभयो ।शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरूको लागि अपाङ्ग मैत्री सेवा प्राप्त गर्ने वातावरण नभएको भन्दै समस्या खेप्नु परेको २० वर्षीय अशक्त पुरुषले गुनासो गर्नुभयो ।
पराग, गुट्खा, खैनी, चुरोटजस्ता हानिकारक वस्तुको खोल र दुर्गन्धित शौचालय प्रयोग गर्नसमेत असहज र बाहिर लाइनमा बस्दा समेत त्यसको दुर्गन्ध आइरहँदा कठिन अवस्था रहेको, सम्बन्धित उक्त निकायको सरसफाइमा ध्यान नदिएको बताउँछन् सेवाग्राहीहरू ।घण्टौसम्म लाइनमा बस्दा निशुल्क पानीको व्यवस्था सम्मको सामान्य सेवा नहुँदा कठिन परेको र भीडमा एकअर्को टासिएर बस्दा गर्मीले रिङ्गटा लागेर, स्वास प्रश्वासमा समस्या रहेर लड्न सकिने बताउँछन एक ७० बर्षिया वृद्ध ।
भिडभाड घुँइचो हुँदा संवेदनशील अङ्गमा जानेर वा अन्जानमा हातले छुने हुँदा असहज हुने गरेको बताउँछिन् एक किशोरी ।
व्यवस्थित पार्किङ नरहेका, सवारी राख्दा एक अर्को टाँसेर राख्नु पर्दा वा बाहिर निस्कने समयमा असहज हुँदा अनेक विवाद गर्नु पर्ने बताउँछन् एक २४ वर्षीय मोटरसाइकल चालक ।
वडा कार्यालयबाट पनि सानो गल्तीको कारण पटकपटक एउटै कामका लागि दुख पाउनु परेको र सामान्य त्रृटिले दुई, तीन पटक सेवा लिन लाइनमा घण्टौ वस्नु परेको बताउँछन् एक युवक ।
वडा कार्यालयबाट कहिले जन्ममिति गलत, कहिले गते, महिना गलत, नाम ,थर, ठेगाना गलत , बुबाआमाको नाम थर गलत यस्तै अनेक गल्तीको सिकार बन्नु परेको र पटकपटक धाउन परेको बताउँछन् सेवाग्राहीहरू ।
जिल्ला प्रशासन कार्यलय जस्तो स्थानमा समेत सिस्टम, नेटवर्कको खराबी हुँदा सेवाग्राहीहरू घण्टौसम्म लाइनमा उभिएर पर्ने र सेवा लिँदा एक बाट अर्को झ्यालमा सरी रहनु पर्दा सेवा लिन झनझटिलो रहेको बताउँछिन एक ३२ वर्षीय महिला।
सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री भन्नुहुन्छ, ‘जिल्ला प्रशासन कार्यालयमा स्थान सानो छ। सेवाग्राहीहरू धेरै सङ्ख्यामा आउँछन्। त्यसमाथि सबैलाई हतार हुन्छ तर कर्मचारी कम छौँ। प्रविधि पनि पुरानो छ। त्यसैले उपयुक्क्त ढङ्गले सेवा दिन सकेका छैनौ। ‘