रविका दुवै घनिष्ट साथीको मृत्यु ‘रहस्य’ मै
काठमाडौं । ‘नेपाल गए कपाल सँगै, वर्मा गए कर्म सँगै’ भन्ने उखान चर्चित छ । यो उखान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा ठ्याक्कै चरितार्थ भएको छ ।
बितेको चार वर्षमा उनका दुई घनिष्ट मित्रको अल्पायुमै निधन भएको छ । जतिबेला रवि न्युज २४ टेलिभिजनमा कार्यरत थिए त्यसबेला उनका अतिनिकट सहकर्मी शालिकराम पुडासैनी आत्महत्या गर्न विवश भए ।
भरतपुरको एउटा होटलको कोठामा झुन्डिएर उनले आत्महत्या गरे । आत्महत्या गर्नुअघि उनले सुसाइड भिडियो क्लिप तयार पारेका थिए । जसमा रवि लामिछाने टिमका कारण आफूले यो निर्णय लिनुपरेको उल्लेख थियो । त्यसबेला पुडासैनीले रविलाई विभिन्न आरोप लगाएका थिए । मर्न लागेको व्यक्तिले लगाएको आरोप अकाट्य मानिन्छ ।
रविविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा दर्ता भयो । उनी तीन महिना जेल परे । तर, अदालतले उनलाई सफाइ दियो । प्रमाण नपुग्ने भन्दै जिल्ला अदालत चितवनले उनलाई सफाइ दिएको थियो ।
सञ्चारकर्मीसमेत भएकाले रविको पक्षमा सबै लागे । उनी निर्दोष भएको भन्न थालियो । रविलाई रिहा हुनुपर्ने भन्दै चितवनमा उनका ७७ जिल्लाका समर्थक ओइरिए । कालान्तरमा रविको त्यही बेलाको ख्याति नै चुनाव जित्ने प्रमुख आधार बन्न पुग्यो ।
न्यायिक हिरासतमा रहेका बेला रविले आफू रिहा भए ७२ घन्टामा पुडासैनीको हत्याबारे प्रमाण जुटाउने बताएका थिए । तर यसबीचमा उनी पार्टी खोलेर उपप्रधानसहित गृहमन्त्री पनि भए । तर पुडासैनीको आत्महत्या उनले बिर्सिसकेका छन् । नामसमेत सुन्न चाहँदैनन् । पुडासैनीको आत्महत्या रहस्यमै छ ।
वैशाख ४ गते सिन्धुपाल्चोक बाह्रबिसे घर भएका रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) रविको तीन तले घरको छतबाट खस्न पुगे । रवि ग्यालेक्सी टेलिभिजनमै हुँदादेखि शम्भु उनका गाडी चालक थिए । तर उनी एक्कासि घरको छतबाट खसे । १५ दिन कोमामा राखेर उनको मंगलबार निधन भएको कुरा सार्वजनिक गरियो ।
चितवन २ मा उपनिर्वाचन हुन गइरहेकाले त्यसबेला शम्भुको अवस्थाबारे कुनै तथ्य बाहिर ल्याइएन । चुनावलाई प्रभाव पार्ने डर रविमा थियो । सो घटनामा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान र छानबिनसमेत अगाडि बढाएको छैन । पूर्वगृहमन्त्री र फेरि पनि रवि सत्तामा आउने भयले प्रहरीले शम्भुको मृत्युबारे अनुसन्धान अघि नबढाएको बुझिएको छ ।
सँगै सुतेका अर्का ड्राइभरले खसेर बेहोस भइसकेपछि मात्र चाल पाउनु, रविसहित उनको घरमा रहेका अरुसँग प्रहरीले सोधपुछ नगर्नुले धेरै प्रश्न खडा भएका छन् । तर ३९ वर्षीय शम्भुले अल्पायुमै ज्यान गुमाएका छन् ।