शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र चर्च ब्वाइज जित
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ । च्यासल मैदानमा बुधबार भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो । यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ । १४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ ।
त्यस्तै अर्को खेलमा फ्रेण्ड्स क्लबसँग पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जितका साथ चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा चर्च ब्वाइजलाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको अन्तिम चार मिनेटमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे । १४औं मिनेटमै विदेशी डिफेण्डर बेन नास क्वान्साको गोलमा अघि बढेको फ्रेण्डस् अन्तिम समयमा सम्हालिन सकेन । चर्च ब्वाइजका लागि ८६औं मिनेटमा अन्जनले गोल गरी खेल बराबरीमा ल्याए । आशिषले ९०औं मिनेटमा विजयी गोल गरे । १४औं चरणको खेलमा ३ अंक थपेर चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । समान १४ खेलबाट शीर्ष स्थानको जावलाखेलसँगै २४ अंक भए पनि गोलअन्तरमा चर्च ब्वाइज पछि परेको हो ।