माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी
काठमाडौं । नेकपाकालीन विवादमा माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको हरिबिजोग भएको छ । जति माओवादी नेता एमाले प्रवेश गरे, एउटा न एउटा काण्डले सकिँदै गएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर एमाले अध्यक्ष केपी ओलीको फेर समाउन पुगेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरीमध्ये कोही विभिन्न काण्डमा मुछिएका छन् । कोही गुमनाम छन् । कसैले एमाले नै छाडिसकेका छन् ।
बादल अहिले एमाले उपाध्यक्ष छन् । तर उनी एक वर्षदेखि गुमनाम जिन्दगी बिताइरहेका छन् । उनी एमालेका कुनै पनि गतिविधिमा देखिएका छैनन् । उनी अहिले सांसदसमेत छैनन् । राष्ट्रिय सभा सदस्यमा हारेपछि उनको राजनीति धरापमा परेको हो ।
उनी अहिले श्रीमती नैनकला थापा र छोरा प्रतीक थापाका कारण विवादमा तानिएका छन् । अझ उनी गृहमन्त्री हुँदाका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईकै कारण बादल परिवार मानव तस्करीमा जोडिएको छ । छोरा प्रतीक फरार छन् । नक्कली शरणार्थी प्रकरणको जरोले बादललाई पनि तान्ने अनुमान गरिएको छ ।
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतामध्ये रायमाझी मात्र सांसदमा निर्वाचित भए । उनी एमालेका सचिव पनि हुन् । रायमाझीको सचिव पद एमालेले निलम्बन गरिसकेको छ । उनले नक्कली शरणार्थी प्रकरणमा रकम लिएको र गिरोहका सदस्यलाई सघाएको भेटिएको छ । उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।
एमाले सचिव लेखराज भट्ट यतिबेला गुमनाम छन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनको कहीँकतै चर्चा छैन । उनी पछिल्लो समय एमालेमा सक्रिय पनि छैनन् । धेरैले उनी पुनः माओवादीमा फर्कन खोजिरहेको अनुमान गरेका छन् । घटनाक्रमले पनि त्यसलाई पुष्टि गर्दै लगेको छ ।
मणि थापा एमाले प्रवेश गरेपछि हराए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बनेका थिए । त्यसयता उनी कहाँ छन्, के गर्दैछन् ? अत्तोपत्तो छैन । श्रीमतीलाई ओलीले राम्रो ठाउँमा नियुक्ति गरिदिएपछि थापा अहिले माओवादी नेतासँग सम्पर्कमा समेत छैनन् ।
प्रभु साह त एमालेमा केही समय बसेपछि छाडेर हिँडे । चुनावको मुखमा एमाले छाडेका उनले स्वतन्त्र भएर जिते । अहिले आम जनता पार्टी खोलेका छन् । उनी एमालेमै रहँदा पनि केपी ओलीको खुंखार आलोचक थिए । त्यस्तै, कञ्चनपुरका गौरीशंकर चौधरी त एमालेको राजनीतिको सिनमै छैनन् । माओवादीमा रहँदा उनले बेलाबेला अवसर पाउँदै आएका थिए । एउटा पार्टीमा लामो समय बिताएर अर्को पार्टीमा जाँदा तिनको हैसियत कस्तो हुन्छ भनेर बुझ्न एमाले पसेका पूर्वमाओवादी नेताहरू नै काफी छन् ।