आईजी कुँवरसँग प्रतिशोध लिँदै एआईजी श्यामलाल ज्ञवाली
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका दुई उच्च अधिकृतको इगो जबर्जस्त सतहमा आएको छ । आफूलाई आईजीपी नबनाएको रिसमा एआईजी श्यामलाल ज्ञवालीले आईजीपी बसन्तराज कुँवरको प्रतिष्ठासँगै पदसमेत धरापमा पार्ने रणनीति बनाएका छन् । सोही कारण अहिले उनले धमाधम अदालतमा मुद्दा दर्ता नभएकै बेला गिरोहका सबै आरोपीको बयान मिडियामा छताछुल्ल बनाएको प्रहरी स्रोतले बतायो ।
नेपाल प्रहरीमा ज्ञवाली र आइजिपी कुँवर एउटै ब्याचका हुन् । आइजिपी हुन ज्ञवाली पनि प्रतिस्पर्धी थिए । तर कुँवरले बाजी मारे । त्यहीबेलाको रिस फेर्न ज्ञवालीलाई नक्कली शरणार्थी प्रकरण गज्जबको मसला बनेको देखिएको छ ।
सचिव पाण्डे र गिरोहका एक सदस्यबीच भएको भाइवर म्यासेज मिडियामा ल्याइएको छ । त्यसबेला कुँवर डीआईजी थिए । डिआईजी कुँवरलाई भेट्न गिरोहले खोजिरहेको र कुँवरले रेस्पोन्स नगरेपछि सचिव पाण्डेले नै फोन गरेर भेट्न समय मिलाइदिएको म्यासेजमा देखिन्छ । गृहसचिवले पठाएको व्यक्तिलाई कुनै पनि प्रहरी अधिकृतले म भेट्दिनँ भन्न मिल्छ ? तर त्यसलाई नै लिएर अहिले कुँवरमाथि पनि छानबिन हुनुपर्ने आशयसहितका समाचार आइरहेका छन् । यसमा ज्ञवालीकै प्रमुख हात रहेको स्रोतले बतायो । यदि कुँवरलाई पदबाट हटाउन सके आफू आईजीपी बन्ने उनको खेल पनि हुनसक्ने अनुमान गरिएको छ ।
एआइजी ज्ञवालीले चैत १६ गतेदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालय ९मेट्रो० रानीपोखरी प्रमुखका रूपमा कार्यभार सम्हालेका थिए । काठमाडौं मेट्रो प्रमुखका रूपमा उपत्यकाका तीनै जिल्ला र अपराध अनुसन्धान कार्यालय ज्ञवालीकै मातहतमा पर्छन् । अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले माथिल्लो निकायका रूपमा मेट्रोलाई नै रिपोर्टिङ गर्नुपर्छ । ज्ञवाली मेट्रो प्रमुखका रूपमा नियुक्त भएर आएपछिको पहिलो बैठकमै एसएसपी केसीले नक्कली शरणार्थी प्रकरणबारे ब्रिफिङ गरेका थिए ।
त्यसअघिसम्म काठमाडौं प्रहरीले सिधै आइजिपीलाई भ्रष्टाचार अनुसन्धानबारे ब्रिफिङ गर्दै आएको थियो । तर संगठित अपराधअन्तर्गत अनुसन्धान अघि बढेपछि भने ज्ञवालीले बिस्तारै त्यसलाई आफ्नै पकडमा लिन थाले । उनले मेट्रोमा आएर अनुसन्धानको नेतृत्व आफ्नो हातमा लिएपछि आइजिपी कुँवरले हस्तक्षेप गर्न सकेनन् । एउटै ब्याची, आफ्नो प्रतिस्पर्धी र ज्ञवालीको स्वाभावका कारण पनि कुँवरले केही भनेनन् ।
हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई मेट्रोमै दुई दिन बोलाएर ज्ञवाली आफैंले सोधपुछ गरे । सो सोधपुछमा अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी, जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख दानबहादुर कार्कीसहितको टिम पनि थियो । उनीहरूले गरेको सोधपुछमा पाण्डेले गृहमन्त्री बालकृष्ण खाणको संलग्नता रहेको आरोप लगाए । त्यसपछि वैशाख २६ गते राति २ बजेसम्म ज्ञवाली र केसीसँगै बसेर खाणलाई पक्राउ गर्नेबारे छलफल भएको बुझिन्छ ।
ज्ञवालीले वैशाख २७ गते बिहान खाणलाई पक्रिने निर्णय गरे र त्यसको नेतृत्व गर्न एसएसपी केसीलाई निर्देशन दिए । सोही दिन बिहानै केसीको नेतृत्वमा गएको प्रहरी टोलीले खाणलाई उनकै निवासबाट पक्राउ ग¥यो । खाण पक्राउ परेपछि मात्रै ज्ञवालीले त्यसको जानकारी आइजिपी कुँवरलाई दिएका थिए ।
ज्ञवाली एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । प्रहरीमा भइरहेका सबै घटनाको गोप्य जानकारी ज्ञवालीले दानबहादुर कार्कीमार्फत बालकोट पुर्याउने गरेको स्रोतले बतायो । अहिले आईजीपी कुँवरबारे सचिव पाण्डेसँगको भाइवर च्याट एआईजी ज्ञवालीले नै मिडियामा पठाएको बताइन्छ । त्यति मात्र होइन, गिरोहका आरोपीको बयान पनि रानीपोखरीबाटै ज्ञवाली र कार्कीले आफू निकट पत्रकारलाई दिने गरेको पाइएको छ । प्रहरीमा भएको सबै गोप्य घटनाको जानकारी पाएरै केपी ओलीले एमालेलाई मात्रै सिध्याउन खोजेको भन्दै प्रतिवाद गरिरहेका छन् ।