भारत आफ्नो स्वार्थका सम्झौता गर्न सफल, नेपाललाई फाइदा हुने परियोजनाबारे मौन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघिसम्म निकै उत्साही देखिन्थे । किनभने उनले नेपाललाई दीर्घकालीन हित हुने किसिमको सम्झौता हुने अपेक्षा गरेका थिए । तर बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता र सम्झौतामा नेपालको भन्दा पनि भारतका चासोका परियोजना मात्रै उल्लेख भएको देखेपछि प्रचण्ड निराश भएका छन् ।

नेपाल र भारतबीच मुख्य सातबुँदे सम्झौता भएको छ । जसमा नेपाल भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने र डिजिटल पेमेन्ट सम्झौता छ ।

यी परियोजना हेर्ने हो भने सबै भारतका स्वार्थमा मात्र रहेका छन् । नेपालले पाउने उपलब्धि केही पनि छैन । यसले नेपाललाई अझै भारतसँग परनिर्भरता बढाउने निश्चित छ ।प्रधानमन्त्री प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् । तर यसबारे भारतले कुनै सहमति र सम्झौता गरेको छैन । मौखिक सहमतिको कुनै अर्थ छैन । नेपालले महेन्द्रनगरबाट हवाई रुटलाई भारतले अनुमति दिने अपेक्षा गरेको थियो । प्रचण्डले त्यसबारे पत्रकार सम्मेलनमा कुरा राखेका पनि हुन् । तर भारतले अझै मानेको छैन ।

जसकारण अर्बौ लागतमा बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य जोखिममा परेको छ । प्रचण्डले गौतमबुद्ध र पोखरा विमानस्थलबाट भारतका विभिन्न सहरमा हवाई उडान हुने अपेक्षा सम्बोधनमा गरेका थिए । तर मोदीले यसबारे केही बोलेनन् ।

मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको दाबी गरे । उनले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको सम्झँदै नाका अवरोध नहोस् भनेर काम गरेको पनि बताए। उनले योबीचमा पाइपलाइनमार्फत डिजेल निर्यात, नेपालबाट भारतमा बिजुली निर्यातको सुविधाका लागि सहजीकरण गरिएको भनाइ राखे।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको संयुक्त लगानीमा नेपालमा रासायनिक मल कारखाना खोल्न सहमति भएको उल्लेख गरे पनि यसबारे मुख्य सम्झौतामा केही उल्लेख छैन । प्रचण्डले चितवनमा मल काराखना खोल्ने बताएका छन् । यदि नेपालमै मल कारखाना खोल्ने हो भने समयमै नेपाली किसानले मल पाउँथे मात्र होइन, अर्बौ रुपैयाँ विदेशिनबाट रोकिन्थ्यो । तर यसबारे पनि भारतले कुनै चासो राखेको देखिएन । तल्लो अरुण र फुकोट कर्णाली परियोजना भारतकै पक्षमा छन् ।

सो आयोजना निर्माण गर्दा नेपालले २१ प्रतिशत बिजुली पाउँछ । भारतले ७९ प्रतिशत बिजुली लैजाने भएको छ । त्यसैले प्रचण्डको भारत भ्रमणले नेपाललाई कुनै फाइदा पुग्ने देखिएन । मोदीले पहिलोपल्ट नेपाल र भारतबीच देखिएको सीमा विवाद सबै समाधान हुने भनेर मुख खोलेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *